×

म्यानमारमा सैन्य कुपछि बढ्दो द्वन्द्व र हिंसाका कारण गरिबी दर ह्वात्तै बढेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको एक रिपोर्टअनुसार तीन वर्षदेखि जारी द्वन्द्व र हिंसाका कारण गरिबीको दर ५० प्रतिशतबाट उकालो लागेको छ। 

त्यहाँको मध्यम वर्ग गरिबीको रेखामुनि धकेलिँदै छ भने गरिबीमै रहेका परिवार थप संकटमा परेका छन्। युएनडीपीले ‘म्यानमारको गरिबी र घरेलु अर्थतन्त्र : हराउँदै गएको मध्ययम वर्ग’ शीर्षकमा सार्वजनिक गरेको रिपोर्टमा सन् २०२१ मा म्यामारमा सैन्य कु भएपछि देखिएका चुनौती र त्यसको गहिरो प्रभावबारे विस्तृत विवरण समेटिएको छ। 

रिपोर्टअनुसार म्यानमारको ७६ प्रतिशत जनसंख्या जीवनयापन र आफ्नो अस्तित्वको लागि लडिरहेको छ। सन् २०१७ मा गरिबी दर २४ दशमलब ८ प्रतिशत रहेकोमा २०२३ मै यो दर बढेर ४९ दशमलब ७ प्रतिशत पुगेको छ । यसका साथै प्रत्यक्ष वैदेशिक लगानी तीव्ररूपमा घटेको छ। सन् २०२१ मै म्यानमारको कुल घरेलु उत्पादन जीडीपी १७‍.९ प्रतिशतले संकुचित भएको थियो। त्यसपछि यसमा कुनै सुधारको पहल भएको छैन, बरु संकुचन थप बढेको छ। 

यूएनडीपीको रिपोर्टअनुसार १२ हजारभन्दा बढी घर परिवारसँग लिइएको जानकारीअनुसार अधिकांशले परिवारको दैनिक गुजारा चलाउन कठिन भएको समस्या सुनाएका छन्, जसमा स्वास्थ्य, शिक्षा लगायत अत्यावश्यक क्षेत्रको खर्च कटौती गर्नुपरेको र घर परिवार चलाउन ऋण लिनु परेको गुनासो गरेका छन्।

Back to top