×

वीरगञ्ज । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदै छ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ ।

ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबिच हुने यो टी–२० अन्तर्राष्ट्रिय खेल दशौँ पटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ । टी–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । उक्त प्रतिगोयताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । खेल तालिकाअनुसार आजै अपराह्न हुने समूह ‘ए’अन्तर्गतको अर्को खेल हङकङ र कतारबिच हुनेछ । नेपाल भोलि कतारसँग र वैशाख ३ गते हङकङसँग भिड्नेछ ।

समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ । प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भुर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

Back to top