×

वीरगञ्ज । वीरगञ्जमा आजदेखि रात्री बजार लाग्दैछ । वीरगञ्ज महानगरपालिकाले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै रात्री बजार लगाउन लागेको हो । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, फोरजी आर, वीरगञ्ज साइक्लिङ् क्लब, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज लगायतका संस्थासँगको सहकार्यमा ३ दिने रात्री बजारको आयोजना गरिएको हो । गत वर्षदेखि महानगरपालिकाले हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार रात्री बजार सञ्चालन गर्ने योजना बनाएको थियो ।

सोही योजनालाई निरन्तरता दिँदै महानगरपालिकाले नयाँ वर्षलाई मध्यनजर गरेर रात्री बजारको आयोजना गरेको महानगर प्रमुख राजेशमान सिंहले बताए । नयाँ वर्षमा घुम्नका लागि वीरगञ्ज बाहिर नगएर वीरगञ्जमै रमाउने वातावरणको सृजना गरिएको महानगर प्रमुख सिंहको भनाई छ । प्रमुख सिंहकाअनुसार व्यापार व्यवसायमा बृद्धि गरी आर्थिक गतिविधि बढाउने अभिप्रायले रात्री बजारको अवधारणा ल्याइएको हो । 

स्थानीय व्यापार तथा स्थानीय उत्पादनको प्रबद्र्धनमा रात्री बजारले टेवा पुग्ने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको विश्वास छ । खेतानकाअनुसार रात्री बजारमा विभिन्न प्रकारका खाना तथा खाद्यान्न सामग्रीसँगै फेन्सी लुका, जुत्ता, चप्पल, चस्मा लगायतका सामग्रीको बिक्रिवितरण हुनेछ । 

यस्तै हस्तकला तथा घरेलु उत्पादनसँगै ट्याटु र मेहन्दीको पनि व्यवस्था गरिएको छ । फुट मसाजसँगै फोटोग्राफी र सेल्फी स्ट्याण्डका साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको खेतानले बताए । उनकाअनुसार वीरगञ्जको लोहारपट्टीदेखि पूरानो बसपार्कसम्म १४० वटा स्टल बिक्रि भइसकेका छन् । 

ईद पर्व, चैती छठ, नयाँ वर्ष सबै पर्व परेको हुँदा यस वर्ष पनि रात्री बजार सफल हुने उनको अनुमान छ । गत वर्ष रात्री बजारमा करिब ७ करोडको व्यापार भएको थियो भने यस वर्ष झनै बढ्ने उनको अनुमान छ ।

गत वर्ष ५ दिनमा ४ लाख बढीले अवलोकन गरेको रात्री बजारमा यस वर्ष ३ दिनमै ४ लाख दर्शक ल्याउने लक्ष्य रहेको उनले बताए । वीरगञ्ज औद्योगिक क्षेत्र भएपनि यहाँका उद्योगी व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य संघले भने रात्री बजारमा कुनै स्टल नराखेको उनको गुनासो छ । 
 

Back to top