×

वीरगञ्ज । स्थानीय तहहरुले सडक बत्तीको बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काट्न थालेको छ । देशेभरका ३३२ वटा स्थानीय तहको गरी ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । 

पर्सा जिल्लाका १४ वटै स्थानीय तहले पनि सडक बत्तीको बक्यौता शूल्क तिरेका छैनन् । वीरगञ्ज महानगरपालिकाको २ वटा केन्द्रबाट सडक बत्ती जडान गरेको छ । जसमध्ये नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रबाट १७ करोड २१ लख २६ हजार २७२ रुपैयाँ बक्यौता छ भने सिमरा वितरण केन्द्रबाट ७ लाख ४३ हजार १९३ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

पर्साकै पर्सागढी नगरपालिकाको सिमरा वितरण केन्द्रबाट १ करोड १३ लाख ८० हजार ९५३ रुपैयाँ बक्यौता छ । पर्सागढी नगरपालिकाकै पोखरिया वितरण केन्द्रबाट ८ लाख ९० हजार ३०७ रुपैयाँ बक्यौता बाँकी छ । पोखरिया नगरपालिकाको पोखरिया वितरण  केन्द्रमा १ करोड १२ लाख ९४ हजार ५३४ रुपैयाँ बक्यौता छ । 

पोखरिया वितरण केन्द्रबाटै सडक बत्ती बाल्ने बहुदरमाई नगरपालिकाले पनि विद्युत महशुल तिरेको छैन । बहुदरमाई नगरपालिकाको बक्यौता शूलक २ करोड ३४ लाख ३१ हजार ५०५ रुपैयाँ छ ।

जिराभवानी गाउँपालिकाको ६१ लख ९३ हजार ८६३ रुपैयाँ, जगरनाथपुर गाउँपालिकाको ८ लाख ४४ हजार २४० रुपैयाँ, विन्दवासिनी गाउँपालिकाको ९७ लाख ५२ हजार ३९९ रुपैयाँ विद्युत बक्यौता बाँकी रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । 

पोखरिया वितरण केन्द्रबाटै बत्ती जडान गरेको पकाहमैनपुर गाउँपालिकाको ५४ लाख ६४ हजार ५६९ रुपैयाँ बाँकी छ । कालिकामाई गाउँपालिकाको ७० लाख ८७ हजार ६२१ रुपैयाँ, सखुवाप्रसौनी गाउँपालिकाको १ करोड ९ लाख ४८ हजार ५१० रुपैयाँ, ठोरी गाउँपालिकाको ८५ लाख ५० हजार ३५७ रुपैयाँ, पटेर्वासुगौली गाउँपालिकाको ३४ लाख ५५ हजार ७६८ रुपैयाँ, छिपहरमाई गाउँपालिकाको ४ लाख ६३ हजार ३२० रुपैयाँ बाकी छ भने धोबिनी गाउँपालिकाको ३७ लाख ९६ हजार १८७ रुपैयाँ बक्यौता बाँकी रहेको सूचना अधिकारी घोषले बताए । 

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काट्ने प्रक्रिया अघि बढाएको छ । स्थानीय तहहरुलाई पटक पटक ताकेता गरे पनि बक्यौता नतिरेपछि लाइन काट्न थालिएको घोषले बताए । प्राधिकरणले चैत १६ गते सार्वजनिक सूचना निकालेर सडक बत्ती प्रयोग गरेबापत बक्यौता तिर्न आग्रह गरेको थियो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर आग्रह गर्दा पनि बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको हो । चैत २३ गते सूचना निकालेर जुनसुकै बखत लाइन काट्ने जानकारी प्राधिकरणले दिएको थियो ।

स्थानीय तहहरुले भने बक्यौता तिर्न अटेर गर्दै आएका छन । उनीहरुले सडक बत्तीको बक्यौता तिर्नुपर्ने भए पोल गाडेको भाडा माग्दै आएका छन् ।

Back to top