×

वीरगञ्ज । अस्पतालस्थित प्रयोगशालामा म्याद गुज्रेको केमिकल तथा रिएजेन्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा तथा कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी थुनुवामा नबसेर अस्पतालमा बसेको पाइएको छ ।

सोमबार दिउँसो अस्पतालबाट पक्राउ परेका शाहनवाजलाई स्वास्थ्यमा समस्या भएको भन्दै अस्पतालमा राखिएको हो । यद्यपि उनलाई नारायणी अस्पतालमा नराखेर प्रहरीले सुविधा सम्पन्न निजी अस्पतालमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शाहनवाजलाई नियन्त्रणमा लिएर मेडिकल चेकजाँच गराउन नारायणी अस्पताल लागेको बेला उनले छातीमा समस्या भएको बताएका थिए । त्यसपछि चिकित्सकहरूले उनलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए । यद्यपि उनले नारायणी अस्पतालमा उपचार गराउन मानेनन् । हाल उनी वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालको सुविधा सम्पन्न कक्षमा उपचार गराइरहेका छन् ।

प्रहरी स्रोतका अनुसार शाहनवाजले छातीमा समस्या भएको नाटक गरेका हुन् । प्रहरीको थुनुवामा बस्नुपर्ने डरका कारण उनले सो नाटक गरेको बुझिएको छ । नियमअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थुनुवालाई नारायणी अस्पतालमा राखेर उपचार गरिन्छ । तर, शाहनवाजले पैसा र पावरको बलमा निजी अस्पतालमा उपचार गराइरहेका छन् ।

स्रोतका अनुसार शाहनवाजले सुरुमा आफूलाई आफ्नै अस्पताल; नेशनल मेडिकल कलेजमा लग्न आग्रह गरेका थिए । तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले नमानेपछि उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल लागिएको थियो । यता, उनलाई प्रहरी हिरासतबाट छुटाउन दौडधुप सुरु भएको छ ।

सोमबार दिउँसो वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यस क्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमा पनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए ।

कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको ४० भन्दा बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने, ‘ल्याबमा बिरामीको रगत परीक्षणमा प्रयोग गरिने केमिकलहरू म्याद गुज्रिएको भेटिएका थिए ।’

छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी एसपी ढुङ्गेलसँगै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सञ्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

 

यता, कलेज प्रशासनले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमन टोलीले लगाएको आरोपहरूलाई खण्डन गरेको छ । प्रेस विज्ञप्तिमा कलेजले ल्याब टेस्टको प्रोटोकल पालना गरेको तथा म्याद सकिएको केमिकलहरू एकातिर भण्डार गरी राखिएको तथा निश्चित निर्देशिका अनुसार नष्ट गर्ने प्रक्रियामा रहेको उल्लेख गरेको छ । कलेजले हिरासतमा लिने नियतका साथ द्वेषपूर्ण र पूर्वाग्रहपूर्ण कार्य निरीक्षण टोलीले गरेको भन्दै सो कार्यको आलोचना गरेको छ । साथै अनुगमन टोलीले लगाएको आरोपलाई ठाडै अस्वीकार गरी कलेजका प्रबन्ध निर्देशन एवम् ल्याबका डाक्टरलाई रिहा गर्न प्रेस विज्ञप्तिमा माग गरेको छ ।

Back to top