×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाकी उपमेयर सुषमा कुशवाहाले योजना दिए बापत कमिसन लिएको आरोप लागेको छ ।

उपमेयर कुशवाहाले आफ्नो बहुदरमाई नगरपालिकामा हुने विकास निर्माणको काम ठेकेदारलाई दिए बापत काम गर्ने ठेकेदारसँग १० प्रतिशतसम्म कमिसन लिने गरेको आरोप लागेको छ । कुशवाहाले एउटा योजना दिएर सो बापत ६० हजार रुपैयाँ कमिसन लिएको पाइएको छ ।

उपमेयर कुशवाहाले आफ्नो योजनाअन्तर्गत मन्दिर निर्माणको काम सम्पन्न गरेका ठेकेदारसँग कुल योजनाको १० प्रतिशतको रकम कमिसन बापत आफ्नै श्रीमान् विक्की कुशवाहाको नाममा रहेको खातामा ठेकेदार कम्पनीको खाताबाट भुक्तानी लिएको प्रमाण फेला परेको छ ।  

उक्त नगरपालिकामा विकास निर्माणको काम गरेका ठेकेदारले नगरपालिकाबाट हुने सम्पूर्ण विकास निर्माणको काममा उपमेयर कुशवाहाले कमिसन खाँदै आएको आरोप लगाएका छन् । 

विकाश निर्माणको काम पाउन पहिला कमिसन नै तय गरेर दिए बापत योजना पाउने गरेको उनले बताए । साथै योजना लिएर काम गरे पनि कमिसन नदिएको भन्दै काम सम्पन्न भइसकेको खण्डमा भुक्तानी दिनबाट रोकेपछि यस्तो रहस्य बाहिर आएको हो ।

यस विषयमा उपमेयर कुशवाहासँग बुझ्दा कमिसन लिएको भनेर लागेको आरोप गलत भएको बताइन ।

Back to top