×

फाइल तस्बिर ।

वीरगञ्ज । नयाँ वर्ष र ईदको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले यस वर्ष पनि ‘रात्रि बजार’ लगाउने तयारी गरेको छ । यही चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातसम्म तीन दिन वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको हो ।

गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन बजार लगाउन लागिएको महानगरप्रमुख राजेशमान सिंहले बताए  । 

रात्रि बजारले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ । बजारको समयमा भारतीय पर्यटकहरूलाई लक्षित गरी वीरगञ्ज नाका रातभर खुला रहने पनि प्रमुख सिंहले जानकारी दिए ।

सामान्यतया वीरगञ्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस भनेर रातभर खुला गर्न लागिएको हो । ‘रात्रि बजार लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति गरिसकेका छौँ,’ महानगरप्रमुख सिंहले भने, ‘रात्रि बजार अवधिभर आउजाउमा कुनै समस्या आउने छैन ।’

बिहीबार सरोकारवालाबिचको छलफलमा रात्रि बजार सौहार्द र सभ्य भव्य रूपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने बारे छलफल भएको छ । ‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामान पाइने महानगर प्रमुख सिंहले जानकारी दिए ।

ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज (एनवाइईएफ वीरगञ्ज), वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र स्टल बुकिङको काम समेत अघि बढाइएको ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

Back to top