×

वीरगञ्ज । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घर टहरा हटाएका हो ।

महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले उक्त अभियानलाई निरन्तरता दिएको हो । अभियानकै क्रममा सोमबार साँझ पनि वीरगञ्ज महानगरपालिकाले वडा नम्बर २९ बसडिल्वाका घर टहराहरू हटाएको छ ।

महानगरको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब सात दशमलव पाँच किलोमिटर पक्की सडक निर्माणाधीन छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटक-पटक सूचना दिए पनि लामो समयसम्म नहटाएपछि महानगरपालिकाले त्यहाँ घर टहरा हटाएको हो ।

यसअघि हुलाकी सडकअन्तर्गत वीरगञ्ज १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि ती संरचना भत्काइएका थिए ।

अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानलाई निरन्तरता दिएको महानगरले अभियानकै क्रममा हालसम्म महानगर क्षेत्रभित्रका २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।

अभियानका क्रममा वडा नम्बर १७ मा आठ, वडा नम्बर २६ मा चार, वडा नम्बर १८ मा २०, वडा नम्बर २४ मा २८, वडा नम्बर २९ र ३० मा दुई–दुई वटा र वडा नम्बर १९ र २३ मा एक–एक वटा सार्वजनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाले जनाएको छ । सार्वजनिक पोखरी रहेको १९ बिघा सात कट्टा जग्गा पहिचान गरी महानगरपालिकाको अधीनमा ल्याइएको सल्लाहकार पोखरेलले बताए ।

महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्र अतिक्रमण गरी स्थानीयले भौतिक संरचना निर्माणका साथै त्यसलाई खेतबारीका रूपमा उपभोग गर्दै आएका छन् ।

महानगरको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीका रूपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिगत रूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्ने अभियान जारी राखेको छ । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्ट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली पनि परिचालन गरेको छ ।

“महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्”, वीरगञ्जका मेयर सिंहले भने, “पहिलो चरणमा प्राविधिक टोलीले सार्वजनिक जग्गा खोज्ने र त्यसपछि पहिचान भएको जग्गा खाली गराएर आफ्नो स्वामित्वमा ल्याउने काम जारी राखेका छौँ, यस क्रममा वर्षैदेखि स्थानीयले उपभोग गर्दै आएको सार्वजनिक पोखरीलाई फिर्ता ल्याउन सफल भएका छौँ” ।

महानगरले वडा नम्बर ३० बेलवामा स्थानीय केहीले अतिक्रमण गरेर उपभोग गर्दै आएको ३२ बिघा जग्गा आफ्नो स्वामित्वमा ल्याएर सामूहिक कृषि खेतीका लागि प्रयास गरिरहेको सल्लाहकार पोखरेलले बताए । वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीयले अतिक्रमण गरी उपभोग गर्दै आएको १० बिघा १८ कट्टा जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएको पोखरेलले जानकारी दिए ।

यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघा र वडा नम्बर १७ अलौं मन्सी टोलमा सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएको संरचना भत्काएर १३ कट्टा आठ धुर जग्गा महानगरले आफ्नो अधीनमा ल्याएको पनि उनले बताए ।

उनका अनुसार वडा नम्बर ३० लालपर्सामा विपश्यनाको पश्चिमतर्फको एक बिघा एक कट्टा र वडा नम्बर १६ इनर्वामा अध्यागमन कार्यालयसँगै जोडिएको १९ कट्टा जग्गा अतिक्रमण हटाएर महानगरपालिकाको स्वामित्वमा ल्याइएको छ ।

त्यस्तै वडा नम्बर २७ मा रामजानकी मन्दिरको नाममा रहेको दुई बिघा १३ कट्टा आठ धुर र वडा नम्बर २२ मनियारीमा आठ कट्टा जग्गा महानगरको अधीनमा ल्याएर नक्साङ्कन गरिएको छ । वडा नम्बर ३१ बेलवामा स्वास्थ्यचौकी नजिकै अतिक्रमण गरी बनाइएको संरचना हटाई चार कट्टा बढी जग्गा, ड्राइपोर्ट अगाडि मूल सडकसँग जोडिएको अतिक्रमित १० कट्टा र सोही सडकअन्तर्गत हुलाकी सडकमा पर्ने सिर्सियाखोला पुल नजिकैबाट दुई कट्टा चार धुर जग्गा महानगरले अधीनमा ल्याएको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।

त्यसै गरी, वडा नम्बर ८ स्थित प्रभु अस्पताल नजिकै पर्ने १० धुर जग्गा खाली गराई महानगरपालिकाले आफ्नो अधीनमा ल्याएको छ भने वडा नम्बर १० स्थित घडिअर्वा पोखरीको दक्षिण गेट अगाडिको रामजानकी मन्दिरको अतिक्रमण हटाई भक्तजनका लागि मन्दिर खुला गरिएको उनले बताए । सार्वजनिक जग्गा खोज्ने क्रममा गुठी संस्थानको नाममा रहेको ८० बिघा जग्गासमेत छुट्ट्याइएको महानगरपालिकाले जनाएको छ ।

केही दिनअघि वीरगञ्ज महानगरपालिकाले आर्दशनगरस्थित ‘चिल्ड्रेन पार्क’को जग्गामा स्थानीयले निर्माण गरेका संरचना हटाएको थियो ।

Back to top