×

वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज (एनवाइईएफ वीरगञ्ज)ले पर्सा प्रहरीका नवागन्तुक प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेललाई स्वागत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सास्थित एसपी ढुङ्गेलको कार्यकक्षमै एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालको नेतृत्वमा पुगेको युवा उद्यमीहरूको टोलीले उनलाई खादा ओढाएर स्वागत गरेको हो ।

स्वागतका क्रममा युवा उद्यमीहरूले एसपी ढुङ्गेलसँग विभिन्न समसामयिक विषयमा छलफल समेत गरेका थिए । वीरगञ्ज र समग्रमा पर्सा जिल्लालाई थप व्यवस्थित, अपराध तथा अवैध कारोबारमुक्त बनाउने विषयमा कुराकानी भएको एनवाइईएफ वीरगञ्जका अध्यक्ष अग्रवालले बताए ।

त्यसका साथै युवा उद्यमीहरूले आफूले भोगिरहेका विभिन्न समस्या उठान गर्नुका साथै प्रहरीबाट अपेक्षित सहयोगका बारेमा आफ्नो धारणा राखेका थिए । सो क्रममा एसपी ढुङ्गेलले पर्सा जिल्लालाई अपराध मुक्त बनाउँदै थप व्यवस्थित स्थान बनाउन आफूले युवा वर्गलाई साथमा लिएर हिँड्ने बताए । उनले नेपाल प्रहरीले युवा उद्यमी र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरेर अगाडि बढ्न सधैँ तयार रहेको समेत बताए ।

प्रहरी र युवा उद्यमीबिच रहेको खाडललाई पूर्ण एउटा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गर्ने एनवाइईएफ वीरगञ्जको प्रस्तावलाई पनि एसपी ढुङ्गेलले स्वागत गरेका थिए ।

छलफल कार्यक्रममा एनवाइईएफ वीरगञ्जका निवर्तमान अध्यक्ष राकेश साह, पूर्व अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य अनुप अग्रवाल, एनवाइईएफ वीरगञ्जका दुतिय उपाध्यक्ष विश्वास प्रताप साह, कार्यसमिति सदस्य सदस्यहरू विपिन बावरी, राधा हमाल लगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।

Back to top