×

बारा । बारामा श्रोत खुल्न नसकेको १३ लाख ५० हजार रुपैयासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाका ३४ बर्षिय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का ४२ बर्षिय रमेश कुशवाहा रहेका छन् ।

उनिहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

न्यौपानेका अनुसार, सोमबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासंग जोडिएको बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ मुसहर्वामा पुगेको थियो । उक्त प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका प्रदेश २–०३–०१६प२३३७ नम्बरको मोटरसाइकलमा सवार पटेललाई रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनको साथबाट नेपाली १३ लाख ५० हजार रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । उनले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाईपनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षिक न्यौपानेले बताए ।

पटेलको साथबाट बरामद रकम हुण्डीको कारोबारका लागि ल्याइएको भन्दै प्रहरीले पक्राउ परेका पटेल र कुशवाहा दुवै हुण्डीको कारोबारी भएको प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।
 

Back to top