×

वीरगञ्ज ।  भान्टा खेति गरिने तराई र मध्य पहाडी क्षेत्रमा डाँठ तथा फलमा लाग्ने गबारो ठुलो समस्याको रुपमा रहेको छ । यो कीराको माउ पुतलीहरु रातमा सक्रिय हुन्छन् । यिनीहरुको पोथीले कलिला पात मुना वा पत्रदलमा अण्डा पार्दछन् जसवाट निस्केका लार्भाले डाँठको मुन्टा वा फलमा प्वाल पारी खान्छन् । अघिल्ला पखेटामा काला र खैरा दाग भएका पुतलीको शरीरको लम्बाई १२ मिलिमिटर हुन्छ भने लार्भा गुलाबी शरीर भएको १६–१८ मिलिमिटर लामो हुन्छ ।

यो कीराको अण्डावाट लार्भा हुन ३–८ दिन लाग्छ भने लार्भाले ४ पटक काँचुली फेरि १२–२२ दिनमा फल तथा डाँठवाट निस्की सुकेका पात वा मुन्टा वा जमिनमा रहेका पात पतिङ्गरमा अचल अवस्थामा गुजार्दछन् । प्युपाबाट वयस्क हुन ६–१७ दिन लाग्दछ । यसरी जीवन चक्र पूरा हुन १ देखि १.५ महिना लाग्दछ भने एक वर्षमा पाँच पुस्तासम्म निस्किन्छन् ।

क्षतिको लक्षण
भान्टा बालीको महत्वपूर्ण शत्रुको रुपमा रहेको यो कीराको भर्खर अण्डावाट निस्केका लार्भाहरुले डाँठको मुन्टा वा फलमा प्वाल पारी खान थाल्दछन् जसको कारण मुन्टा ओइलाइ मर्दछ र फल खान नहुने गरी नोक्सानी हुन्छ । यो कीराले फूल फुल्ने समय र फल लाग्ने समयमा बढी नोक्सान पु¥याउँछ ।

व्यवस्थापन
– बाली लगाएदेखि नभित्राउन्जेल बाली तथा कीराको नियमित अनुगमन गर्ने ।

–  कीराको सक्रियता थाहा पाइराख्न ल्युसिन ल्यूर प्रयोग भएको फेरोमन पासोको प्रयोग गर्ने ।

– जालीदार घरमा नर्सरी विरुवा तयार गर्ने ।

– विरुवा नर्सरीवाट मूल खेतमा सार्दा विरुवालाई स्पाईनोसाड ४५ एससि ०.३ मिलि प्रतिलिटर पानीका दरले छर्ने दरले बनाइएको घोलमा डुबाइ सार्ने ।

– क्षति भएका भान्टाका मुन्टा, पात तथा फल नियमित रुपमा टिपी नष्ट गर्ने ।

– फल दिन छाडेका पुरानो बोटहरुलाई जलाउने वा खाडलमा पुर्ने ।

– विरुवा सारे देखि अन्तिम टिपाइ सम्म १०÷१० मिटरको दुरीमा ल्युसीन ल्यूर प्रयोग गरिएको ओटा–टी पासो प्रयोग गर्ने ।
ल्यूरलाई १५–१५ दिनको फरकमा बदल्ने ।

– कीराको प्रकोप बढ्दै गएमा स्पाईनोसाड एस. सि. विषादी ०.३ मिलि प्रतिलिटर पानीका दरले छर्ने वा

– क्लोरानट्रानिलिप्रोल १८.५ एससि ०.२ मिलि प्रतिलिटर पानीका दरले छर्ने ।

सन्दर्भ सामाग्रीहरू

१. खैरगोली, लक्ष्मी प्रसाद, २०३७, आलुवाली, सरिता खैरगोली, बानेश्वर, काठमाण्डौँ, नेपाल ।

२. नेउपाने, फणीन्द्र प्रसाद, २०३३ वाली विरुवाका शत्रुहरु र तिनको रोकथाम, साझा प्रकाशन, काठमाण्डौं, नेपाल ।

३. जोशी, समुन्द्र लाल, २०५१, नेपालमा तरकारी बालीका मुख्य हानिकारक कीराहरु, कृषि विकास विभाग, तरकारी विकास महाशाखा, खुमलटार, ललितपुर, नेपाल ।

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top