×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति मुम्बईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले २७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा रियान परागले ५४ रनको अविजित इनिङ खेले । उनले ३९ खेलमा पाँच चौका र तीन छक्का प्रहार गरे । रविचन्द्रन आश्विनले १६, जस बटलरले १३, कप्तान सञ्जु सामसनले १२ र ओपनर यशस्वी जैसवालले १० रन बनाए ।

मुम्बईका आकाश माध्वलले तीन विकेट लिए । केवेना मफाकाले एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको  मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ३४ रन जोडे । तिलक वर्माले ३२, टिम डेविडले १७ र इशान किसनले १६ रन बनाए । मुम्बईका तीन ब्याटर ‘गोल्डेन डक’ भएका थिए । मुम्बईका ओपनर रोहित शर्मा, नमनधीर र डेवाल्ड ब्रेविस एक बलमै पभेलियन फर्किएका हुन् ।

राजस्थानका टेन्ट बोल्ट र युजवेन्द्र चहलले समान तीन विकेट लिए । चार ओभर बलिङ गर्दा बोल्टले २२ र चहलले ११ रन मात्र खर्चिए । नान्द्रे बर्गरले दुई र आवेश खानले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट ६ अङ्क जोडेको राजस्थतान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाटै हालसम्म जितविहीन मुम्बई पुछारमा छ ।

Back to top