×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २९ बसडिलवामा निर्माणाधीन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ ।

सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । वीरगञ्ज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो ।

महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका – ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक बनिरहेको छ । नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो ।

पटक–पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाएका थिए । महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो ।

२० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरी सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ । सडकमा परेको संरचना हटाउन वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुसाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

Back to top