×

वीरगञ्ज । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्सले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।

यससँगै सिरिज आयरल्यान्डले २–१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।

नेपालका लागि विपिन खत्रीले १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । कमल ऐरी र नारायण जोशीले १–१ विकेट बाँडे ।

त्यसअघि आरिफ शेखको अर्धशतकमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

आरिफ ३३–३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।

ओपनर देव खनाल (६) दोस्रो ओभरमा ६ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बल पछि अर्का ओपनर लोकेश बम (८) पनि विकेटकिपरको हातबाट समातिए । कप्तान विनोद भण्डारी ११ रन जोड्दै पाँचौ ओभरमा आउट भएपछि नेपाल ३३–३ को स्थितिमा पुग्यो ।

बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । लगत्तै नारायण जोशी १ रन जोड्दै नन स्ट्राइक एन्डमा रनआउट हुन पुगे ।

राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि उनले आरिफसँग ४६ रनको साझेदारी गरे । त्यसपछि कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्कासहित नटआउट १९ रन बनाए ।
 

Back to top