×

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित संविधान सभा सदस्य अनिल रुंगटाले सञ्चालन गरेको होटल दियालोमा सञ्चालित किंग्स क्यासिनोको सिसिटिभी फुटेज यतिबेला सामाजिक सञ्जालमा सार्बजनिक भएको छ । 

नेपाली कांग्रेसका नेता समेत रहेका रुंगटाले  भाडामा दिएको किंग्स क्यासिनोमा कार्यरत वेटरमाथि क्यासिनोमा ग्राहक ल्याउने एजेन्टको काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी सन्दिप रौनियारले हातपात गरेको उक्त फुटेजमा स्पष्ट देखिन्छ । 

क्यासिनोमा खेलिने विभिन्न प्रकारका जुवातास मध्ये फ्लास खेल्ने टेबल सन्दिप रौनियारले करोडौ रुपैयाँ लगानी गरी किनेका छन् । सो टेबलमा जितेको पैँसा हुने गरी क्यासिनो सञ्चालकसँग उनले टेबल खरिद गरेको स्रोतले जनाएको छ । 

उक्त टेबलमा जुवा खेल्दा हारेको रकम अपुग भएपछि सन्दिपले मोवाईल, सिक्री, औठी लगायतका गहना बन्दक राखी प्रति दिन १० प्रतिशतको ब्याजमासापटी पैँसा दिने गरेका छन् । दैनिक लाखौ रुपैयाँ कमाउँदै आएको सन्दिपले पैसाको बलमा वेटरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । 

एकजना अतिथीले मगाएको खानेकुरा सन्दिपले जबरजस्ती खान खोज्दा नदिएपछि वेटरमाथि गाली गलौज र हातपात गरेको प्रत्यक्षदर्शीले यात्राडेलीलाई बताए । 

वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार सन्दिप रौनियार क्यासिनोका एजेन्ट जस्तै हुन् । सन्दिपले भारतीय ग्राहकलाई क्यासिनोमा ल्याउने काम  गर्ने गरेको बोगटीले बताए । सन्दिपविरुद्ध कुनै निवेदन वडा प्रहरी कार्यालय विर्तामा नआएको उनले जानकारी दिए । उनकाअनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको हुन सक्छ । 

सन्दिप रौनियारसँग यस बारेमा बुझ्नका लागि उनको मोवाईल नम्बर ९८१९२९४८**    र ९८२९२३३७**   मा सम्पर्क गर्दा उपलब्ध हुन सकेन । 

भिडियो हेर्न यहा किलीक गर्नुस

किंग्स क्यासिनोभित्र वीरगञ्जका सन्दिप रौनियारले वेटरमाथि हातपात गरेको सिसिटिभी फुटेज ।

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपनि गैरकानुनी रुपमा नेपाली नागरिकलाई पनि प्रवेश गराउने गरेको पाइएको छ । यसकै कारण अधिकांश युवाहरु जुवाको लतमा फस्दै गएर बिल्लीबाठ भएको खबर केही दिन अघि मात्रै प्रकाशित भएको थियो । 

क्यासिनोमा करोडौं रुपैंयाँ हारेपछि वीरगञ्जका रैथानेहरुका घरघरमा झगडा शुरु भएको छ भने यहाँका युवाहरु जुवाको लतमा फस्दै गएका छन् । नगदसँगै मोवाईल, मोटरसाइकल लगायतका जिन्सीसमेत हारेपछि बिमा कम्पनीका कार्यरतहरु पनि चिन्तीत छन् । 

वीरगञ्जका मारवाडी युवा, अग्रवाल, कलवार, सर्राफ, कपडा व्यवसायी रौनीराय लगायतका व्यक्तिहरु सन्दिपको चङ्गुलमा फसेर बर्बाद भएका छन् । यसको ज्वलन्त उदाहरण केही दिन अघि बाराको जितपुर निवासी एक जना यादव थरका व्यक्ति हुन् । उनले क्यानडा जानका लागि जम्मा गरेको रकमसँगै मोवाईल, मोटरसाइकल समेत हारेका थिए । धनमालसँगै कतिले मानसिक तनावले गर्दा ज्यानसमेत गुमाएका छन् । 

Back to top