×

वीरगञ्ज ।  भारततर्फ तेल निर्यातमा कमी आउँदा नारायणी आयल रिफाइनरी उद्योगको व्यापार ४१ प्रतिशतले घटेको छ । भारत सरकारले आन्तरिक बजारमा खाने तेलको मूल्य उच्च बढेको भन्दै कच्चा खाने तेलको आयातमा भन्सारदर शून्य बनाएको थियो । भारत सरकारले कच्चा खाने तेलमा भन्सार दर शून्य बनाउँदा नेपाली उद्योगको व्यापारमा उच्च प्रभाव परेको छ ।

त्यस्तै, कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४१ प्रतिशतले कम व्यापार भएको हो । कम्पनीले सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा कम्पनीले ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा निर्यातमा ८४ प्रतिशतले कमी आएको छ । भारत सरकारले आफ्ना नागरिकको हितलाई सम्बोधन गर्दै कच्चा खानेतेल आयातमा भन्सार दर शून्य बनाउँदा कम्पनीको व्यापारमा उच्च असर पुगेको जनाएको छ । नेपालले भारतमा खाने तेल उच्च निर्यात गर्दै आएको छ ।

सन् २०२२ मा कम्पनीले व्यापार गरेकोमध्ये ४९ प्रतिशत निर्यातबाट गरेको थियो । सन् २०२३ मा निर्यातबाट गरेको आम्दानीको हिस्सा १३ प्रतिशत रहेको छ । सन् २०२३ मा कम्पनीमा आन्तरिक बजारमा मात्रै ५ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको उल्लेख छ ।

व्यापार तथा निकासी केन्द्रका अनुसार सन् २०२३ मा तेलको निर्यात ७२ प्रतिशतले घटेको छ । तीन दशकदेखि कम्पनीले भट्मास, पामोलिन, भेजिटेबल आयल, तोरीको तेल, सन्फ्लावर तेल र पाम तेलको व्यापार गर्दै आएको छ । वार्षिक १ लाख २८ हजार ५ सय मेट्रिक टन प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले त्रिशक्ति, स्माइल, आरोग्या, श्री, निलमफ, कुन्दन र निलकमल ब्रान्डमा प्रशोधित तेल बिक्री विरतण गर्दै आएको छ ।

चचन फ्यामली ग्रुपद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा ६ जना सञ्चालक समिति छन् । कम्पनीको निर्देशक निखिल चचन हुन् ।  साभार : क्लिकमाण्डु बाट

Back to top