×

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्।  अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेसले पृथ्वीको खतरनाक अवस्थाबारे राय व्यक्त गरेका हुन्। 

‘मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ’, उनले भने। 

उनले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भने, ‘अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ। मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ।’

महासचिव गुटेरेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गरे। 

यो संकटसँग जुध्न संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बहुआयामिक दृष्टिकोणको खाका प्रस्तुत गरेका छन्। ‘व्यवसायहरूले फजुल ‘प्याकेजिङ’ कम गर्न र दीर्घायु र जीवनचक्रलाई अधिकतम गर्न आफ्ना उत्पादनहरूमा पुनर्विचार गर्नुपर्दछ’, दिगो उत्पादन अभ्यासहरूतर्फ परिवर्तन गर्न आग्रह गदै उनले भने। 

उपभोक्ताहरूलाई ‘आफूले किनेका सामान र उत्पादनहरूको बारेमा दुई पटक सोच्न र सम्भव भएसम्म रिसाइकल वा पुनः प्रयोग गर्न’ पनि आग्रह गरिएको छ।

गुटेरेस चक्रीय अर्थव्यवस्थालाई बढावा दिन सरकारी कार्यको महत्त्वमा जोड दिए। उनले स्रोतको ह्रासको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने आधुनिक फोहोरमैला व्यवस्थापन कार्यक्रमको खाँचो औँल्याए।
 
‘यो शून्य फोहोर दिवसमा, फोहोरको विनाशकारी चक्रलाई सदाका लागि अन्त्य गर्ने प्रतिज्ञा गरौँ’, उनले भने, ‘हामी विश्वभरका नागरिकहरूलाई भावी पुस्ताका लागि पृथ्वीको रक्षा गर्ने दिगो अभ्यासहरूमा प्रतिबद्ध हुन आग्रह गर्दछौँ।’

हरेक वर्ष दुई अर्ब टनभन्दा बढी ठोस फोहोर नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यका लागि विनाशकारी छ।

Back to top