×

वीरगञ्ज । सामाजिक सञ्जाल र मोबाइल फोन मार्फत नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्ने चिनियाँ गिरोहलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका – १५ लक्ष्मणवास्थित अढाई तल्ले एउटा घर भाडामा लिएर कल सेन्टर स्थापना गरी अनलाइन ठगीको धन्दा चलाइरहेका चिनियाँ गिरोहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र चिनियाँ भाषाको अनुवाद दुई जना नेपाली नागरिक रहेका छन् । पक्राउ परेकाहरूमध्ये चिनियाँ नागरिकलाई मात्र आइतबार प्रहरीले सार्वजनिक गरेको छ । अनुवादक दुई जना नेपालीको भने प्रहरीले परिचय खुलाएको छैन । पक्राउ पर्ने चिनियाँ नागरिकमा चीनको हुवान प्रान्तका ३३ वर्षीय लियु सियु साइ, हुबेइ प्रान्तका २६ वर्षीय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ वर्षीय छियाङ्ग छियो रहेका छन् ।

वीरगञ्जमा दुई महिनादेखि कल सेन्टर कार्यालय नै स्थापना गरेर अनलाइन चिट्टा, अनलाइन सपिङ लगायतका जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना करिब डेढ महिना पहिले प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा शनिवार अपराह्न प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ नगवामा डेरा लिएर बस्दै आएका लियु र वाङ्गलाई तथा वीरगञ्ज महानगरपालिका – ६ बाट छियाङ्गलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिए लगत्तै पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल नेतृत्वको प्रहरी टोलीले उनीहरूले कल सेन्टर स्थापना गरेको वीरगञ्ज – १५ लक्ष्मणवास्थित नन्दू पटेलको घरमा पुगेर छापा मारेको थियो । त्यस क्रममा उक्त घरमा सञ्चालित कल सेन्टरबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल सेट, सिम कार्ड लगायतका सामग्री बरामद गरेको थियो ।

अढाई तल्ले पूरा घर नै भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान,ल्यापटप ४ थान, विभिन्न ब्रान्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्विच ५ थान, बाइफाई राउटर २ थान, इन्भर्टर २ थान, विभिन्न बैङ्कको एटिएम कार्ड तीन थान, मलेसियन मुद्रा ३७ रिंगिट , कम्बोडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिकको पासपोर्ट तीन थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए । यस्तै उक्त घरबाटै बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रङ्गको आई ट्वान्टी कार एक थान र  प्रदेश २–०३–०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुङ्गेलले यो गिरोहमा संलग्न तीन जना चिनियाँ नागरिकलाई मात्र पक्राउ गरेको जानकारी दिए पनि प्रहरीले थप अरू दुई जना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । वीरगञ्जको होटेल भिस्वाबाट प्रहरीले थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । तर पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुङ्गेलले अनुसन्धानका क्रममा थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिए पनि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता नदेखिएको बताए ।प्रहरीको अनुसन्धानका क्रममा ती दुई चिनियाँ नागरिक पर्यटकका रूपमा वीरगन्जमा घुम्न आएको खुलेकाले उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिने बताए । यस्तै पक्राउ परेका चिनियाँ भाषाका अनुवादक दुई नेपाली नागरिकलाई पनि तारिखमा रिहा गरिने ढुङ्गेलले बताए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुङ्गेलले प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना चिनियाँ नागरिकले पटेलको घर भाडामा लिएर दुई महिनादेखि कल सेन्टर कार्यालय स्थापना गरी कर्मचारीसमेत राखेर अनलाइन ठगी गर्दै आएका थिए । नेपाल,भारत, पाकिस्तान लगायतका मुलुकमा रहेका व्यक्तिहरूसँग सामाजिक सञ्जाल र मोबाइल फोन मार्फत अनलाइन चिट्टा परेको लगायतका प्रलोभनमा पारेर उनीहरूले ठगी गर्दै आएको खुलेको जानकारी ढुङ्गेलले दिए ।

पक्राउ परेका चिनियाँ नागरिकहरूले विभिन्न देशका नागरिकबाट अनलाइन ठगी गरेको रकम भारतका विभिन्न बैङ्कहरू मार्फत कारोबार हुने गरेको देखिएका उनले बताए ।उनीहरूले यो धन्दाका लागि नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकमा आफ्ना एजेन्ट पनि राखेको तथ्य अनुसन्धानका क्रममा खुलेको ढुङ्गेलले बताए ।

नियन्त्रणमा लिइएका मोबाइल फोनमा रेकर्ड भएका संवाद चिनियाँ भाषामा रहेको र बयानका क्रममा उनीहरूले चिनियाँ भाषामै बोलिरहेकाले चिनियाँ भाषाविद् र अनुवादकहरूलाई बोलाएर थप अनुसन्धान गरिने ढुङ्गेलले बताए । त्यसपछि मात्रै यो गिरोहका वास्तविकता खुल्ने उनले बताए ।

Back to top