×

वीरगञ्ज । पर्सा जिल्लामा केही वर्ष यता आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पर्सामा विगत तीन वर्ष यता आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको देखिन्छ ।

पर्सामा आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गर्नेको सङ्ख्या एक सय थियो भने आर्थिक वर्ष २०७९/८० मा त्यो सङ्ख्या बढेर एक सय १७ पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पर्सामा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म पर्सामा तिन सय पाँच जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिला र बालबालिकाको सङ्ख्या बढी छ । आत्महत्या गरेका तिन सय पाँच जनामध्ये महिला र बालबालिकाको सङ्ख्या एक सय ७० रहेको डिएसपी थापाले बताए । आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म पर्सामा महिला एक सय दुई, बालिका ४८ र बालक २० जनाले आत्महत्या गरेको पर्सा प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै उक्त अवधिमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या एक सय ३५ जना रहेका छन् ।

आत्महत्या गरेका तिन सय पाँच जनामध्ये दुई सय ६८ जनाले पासो लगाएर र ३७ जनाले विष सेवन गरेर आत्महत्या गरेको थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै जानुमा सामाजिक सञ्जालको दुरुपयोग, उमेर परिपक्व नभई हुने प्रेम सम्बन्ध, महत्त्वाकाङ्क्षी जीवनशैली, पारिवारिक कलह, मानसिक तनाव, घरेलु हिंसा लगायत विभिन्न कारणहरू रहेका छन् । तीमध्ये अहिलेको बढ्दो सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग एक मुख्य कारण रहेको थापाले बताए ।

उनका अनुसार प्रहरी कार्यालयमा दर्ता भएका आत्महत्या घटना सम्बन्धी मुद्दाको प्रहरीले अनुसन्धान गर्ने क्रममा आत्महत्या गर्नेको सङ्ख्या बढ्नुको कारणमा धेरै जसो घटना अहिलेको सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो दुरुपयोग भेटिएको छ ।

थापाले भने, ‘सामाजिक सञ्जालमा मान्छेले अरूको विलासिता जीवनशैली देख्छ । त्यसपछि उसले आफ्नो पनि त्यस्तै जीवनशैली होस् भन्ने सपना देख्न थाल्छ । तर उसले अपेक्षा गरे अनुसारको उसको वा परिवारको आर्थिक हैसियत हुँदैन । त्यसपछि उ मानसिक तनावमा पर्छ । अनि डिप्रेसनमा गएर उसले आत्महत्याको बाटो रोज्छ ।’

यस्तै उमेर परिपक्व नभई बालबालिका वा किशोर किशोरी प्रेम सम्बन्धमा पर्ने र पछि गएर उक्त प्रेम सम्बन्ध सफल नभएपछि मानसिक तनाव आएर आत्महत्या गर्ने प्रवृत्ति पनि देखिएको थापाले बताए । यसमा पनि सामाजिक सञ्जाल नै जोडिएको थापाले बताए । उनले भने, ‘अहिले हरेक केटाकेटीको हातमा मोबाइल छ । फेसबुक, ह्वाट्सअप, इन्स्टाग्राम चलाउँछन् । सोसल मिडिया मार्फत नै चिनजान हुन्छ । त्यो चिनजान बिस्तारै प्रेम सम्बन्धमा परिणत हुन्छ । तर परिवारको अस्वीकार्यता वा अन्य कारणले उक्त प्रेम सम्बन्ध असफल भएपछि तनावमा आएर आत्महत्यासम्म गर्छन् ।’

यस्तै दाइजो वा अन्य कारणले घरभित्र हुने घरेलु हिंसा, पारिवारिक कलह, परिवारको कमजोर आर्थिक अवस्था, विभिन्न कारणले हुने तनावको व्यवस्थापन गर्न नसक्नु इत्यादि कारणले पनि आत्महत्या गर्नेको सङ्ख्या बढ्ने गरेको डिएसपी थापाले बताए ।

बढ्दो आत्महत्याको घटना न्यूनीकरणका लागि प्रहरीले बेलाबेलामा लक्षित समूहका बिचमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको पनि थापाले बताए । यद्यपि यो सबैको सरोकारको विषय भएकाले यसलाई न्यूनीकरण गर्न स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र अभिभावक वा परिवारका सदस्यको भूमिका पनि महत्त्वपूर्ण रहेको थापाले बताए ।

उनले भने, ‘सबै भन्दा पहिले अभिभावकले यदि परिवारको कोही पनि सदस्य तनावमा परेको छ भने उसको गतिविधि नियाल्नु पर्छ । उ के कारणले तनावमा परेको हो त्यसबारे सोधिखोजी गरेर समाधानको उपायमा लाग्नुपर्छ । यदि बेलैमा उसको तनाव व्यवस्थापन गर्न सकियो भने उसले कुनै अप्रिय बाटो रोज्न नै पाउँदैन ।’

Back to top