×

वीरगञ्ज । राउन्ड टेबल नेपालले वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रलाई एक थान फ्रिज सहयोग गरेको छ । फ्रिज अभावका कारण सङ्कलित रगतलाई व्यवस्थापन गर्न चुनौती थपिएपछि केन्द्रको आग्रहमा राउन्ड टेबल नेपालले सोमबार फ्रिज सहयोग गरेको हो ।

रक्तसञ्चार केन्द्रमै आयोजित एक कार्यक्रमका बिच राउन्ड टेबल नेपाल – ८ का अध्यक्ष आकाश सर्राफको नेतृत्वको टोलीले नेपाल रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्त प्रसाद यादव र केन्द्रका प्रमुख सौरभ राज पाण्डेलाई फ्रिज हस्तान्तरण गरेको थियो ।

फ्रिज उपलब्ध भएसँगै रगत व्यवस्थापनमा ठूलो सहयोग मिल्ने केन्द्रका प्रमुख पाण्डेले बताए । राउन्ड टेबल नेपालले यसअघि पनि केन्द्रलाई गरेको सहयोगलाई स्मरण गर्दै उनले भने, “राउन्ड टेबल नेपालले रक्तसञ्चार केन्द्रलाई चाहिएको आवश्यक उपकरणदेखि अन्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । आगामी भविष्यमा पनि संस्थालाई सहयोगलाई निरन्तरता दिने हाम्रो विश्वास छ ।” त्यस्तै नेपाल रेड क्रस सोसाइटीका कोषाध्यक्ष महन्त प्रसाद यादवले नेपाल सरकारले बेवास्ता गर्दै आएको रक्त सञ्चार केन्द्र राउन्ड टेबल नेपाल जस्ता परोपकारी संस्थाहरूको सहयोगले चल्दै आएको बताए ।

राउन्ड टेबल नेपाल – ८ का अध्यक्ष आकाश सर्राफले रक्तसञ्चार केन्द्रलाई सहयोग गर्न पाउँदा आफू गौरवान्वित महसुस गरिरहेको बताए । समयमा रगत उपलब्ध गराएर हजारौँको ज्यान जोगाउने रक्त सञ्चार केन्द्रलाई आगामी दिनहरूमा पनि आफ्नो संस्थाले सहयोग गर्ने सर्राफले प्रतिबद्धता समेत व्यक्त गरे ।

सर्राफले विगतका वर्षहरू जस्तै यस वर्ष पनि राउन्ड टेबल नेपालले “ब्लड डोनेसन ड्राइभ” कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । राउन्ड टेबल इन्टरनेशनलको अवसर पारेर संस्थाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्थानमा रक्तदान कार्यक्रमहरू आयोजना भइरहेको उनले बताए । फागुन २६ देखि सुरु भएको कार्यक्रम मार्फत हालसम्म १ सय ६० पोका भन्दा बढी रगत सङ्कलन भइसकेको बताए । “ब्लड डोनेसन ड्राइभ” कार्यक्रम आगामी चैत्र ७ गतेसम्म चल्ने उनले जानकारी दिए ।

कार्यक्रममा राउन्ड टेबल नेपाल एरिया ३ का संयोजक मनिष कुमार लाठ, संस्थाका प्रतिनिधि धिरज अग्रवाल, शुभम् रूङ्टा, रक्तसञ्चार केन्द्रकी दिलमाया घिमिरे, मनिष साह, हरि राउत र राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

Back to top