×

वीरगञ्ज । मधेशको विकास बिना मुलुकको विकास हुन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सिरहाको सिरहा नगरपालिका– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई समृद्ध बनाउन मधेशको विकास हुनुपर्ने आवश्यक्ता औँल्याए ।

तीन तहको सरकारको सहकार्यबाट हुने विकास निर्माणले मात्रै संघीयतालाई सबल तुल्याउने प्रधानमन्त्री प्रचण्डको भनाई छ । आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताउँदै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने जिकिर गरे । ‘केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

नेपालको विकट भूगोलका कारण अझै झोलुंगे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले कमला नदीमा तटबन्ध निर्माण गर्ने र अन्य पुल निर्माणमा पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

Back to top