×

वीरगञ्ज । वीरगञ्जको गौतम माद्यामिक विद्यालयले ४७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगञ्जका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताए । वीरगञ्ज महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको प्रमुख सिंहको भनाई छ । 

साथै उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगञ्जमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा मेयर सिंहको जोड छ । उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’ 

गौतम माविका विद्यार्थीहरुको प्रस्तुती हेर्दै उनले थपे, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगञ्जको शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’ 

कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् ।  २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’ 

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् । साथै एक साताको छोटो समयमा तयारी गरेर विद्यार्थीहरुले विभिन्न सचेतनामुलक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधान र शिक्षिका श्वेता क्षेत्री गरेका थिए । 
 

Back to top