×

वीरगञ्ज ।  एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा–११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे ।

२१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७–४ को स्थितिमा थियो ।

राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए ।

Back to top