×

वीरगञ्ज । नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो ।

१६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पारेको हो । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए ।

नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो । त्यसपछि तीन र चार नम्बरमा ब्याटिङ गर्न आएका भ्यान लिङ्गेन र इरासमसले खेल नेपालको हातबाट केहि टाढा लगेका थिए ।

तर ६९ रनमा कुशल मल्लले भ्यान लिङ्गेनलाई आउट गर्दै नेपालका लागि विकेट निकालेका थिए । ज्यान फ्राईलिंक पनि ४ रन मात्र बनाएर दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए । ज्यान निकोल लोफ़्टि-इटन र जेन ग्रिन क्रमश: ५ र ६ रन बनाएर कुशल भुर्तेल र ललित राजबंशीको बलमा आउट भए । 

५ रन बाँकी रहँदा नामिबियाको आठौँ विकेट खस्यो । रुबेन ट्रम्पलम्यानलाई कुशल भुर्तेलले १२ बलमा १६ रन बनाएको अवस्थामा लंग–अफमा देव खनालको हातबाट क्याच आउट गराए ।  

१४२–७ को अवस्थाबाट नामिबियाले कुनै विकेट गुमाएन । जेजे स्मिट ६६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउँदै नटआउट रहेर खेललाई नेपालको हातबाट छिने । यस्तै बेर्नार्ड स्कोल्ज ५ बलमा ८ रन बनाएर अविजित रहे ।  

नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान एक–एक विकेट लिए । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।     

राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग–बिफोर–विकेट आउट भएका थिए । 

यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए । 

अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग–बिफोर–विकेट आउट भएका थिए ।

त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि-इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन–लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।  

 दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि-इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि-इटनकै बलमा पेभेलियनको बाटो लागे ।

अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि-इटनको बलमा लंग–अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो । 

नामिबियाका लागि लोफ़्टि-इटन र स्कोल्जले समान ४–४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि-इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १–१ विकेट लिए ।  

सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् । त्यसपछि यी ३ टोलीले टि–२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।  

सम्पूर्ण खेलको प्रतक्क्ष प्रसारण एक्सन स्पोर्ट्सले गरिरहेको छ । हाम्रो खेलकुदबाट साभार । 

Back to top