×

तस्बिर : सुरेन्द्र थापा

वीरगञ्ज । १३ बुँदे घोषणा पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा कार्यशाला सम्पन्न भएको छ । भेलाको समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्न प्रदेश सरकारले रणनीति बनाइरहेको बताए । चलचित्रले समाजको अवस्था झल्काउने भन्दै उनले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको धारणा राखे ।

दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन बजेट विनियोजन गरेपनि त्यो हुन नसकेको मुख्यमन्त्री कट्टेलले बताए । अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको उनको भनाई छ । 

प्रदेश सरकारले चलचित्र ऐन बनाउन गृहकार्य गरिरहेको र हिउँदे अधिवेशनमा पारित गरी ऐनको रुपमा जारी गर्ने उनले बताए । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वय परिषद् बैठकमा पेश गरिएको र पत्रकारलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले बताए ।

बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु फिल्म निर्माणका लागि कार्यविधि बनेको भन्दै पटकथा लेखन तालिम सञ्चालन हुने बताए ।

भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायत विषयमा छलफल भएका थिए । सिनेमा पर्यटन विशेष संवादमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, पूर्व अध्यक्ष दयाराम दाहाल, पर्यटन बोर्डका अध्यक्ष सूर्य थपलिया, अभिनेत्री केकी अधिकारी सहभागी थिए । यो सत्रमा निर्देशक दिनेश डि.सी.ले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 
सिनेमा बजार विषयक बहसमा नरेन्द्र महर्जन, जनक तामाङ्, अभिनेत्री स्वस्तिमा खड्का सहभागी थिए भने चलचित्र पत्रकार तथा निर्देशक सुब्रत आचार्यले सहजीकरण गरेका थिए । 

निर्माता आकाश अधिकारी, कलाकार तथा निर्देशक रविन्द्र सिंह बानीया, निर्देशक निश्चल बस्नेत सहभागी भएको मिडिया प्रमोशन र कर्पाेरेट लगानी विषयक बहसको अशोक प्यासी राईले सहजीकरण गरेका थिए । फिल्म सेन्सर की ग्रेडिङ् विषयक बहसमा निर्देशक दयाराम दाहाल, निर्देशक मनोज पण्डित, चलचित्र विकास बोर्डका सदस्य रबी अधिकारी वक्ता थिए भने संजोक बस्यालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यशालामा खबर हबका प्रधान सम्पादक अरुण बराल र नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले प्रशिक्षण दिएका थिए । 

चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्व खतरामा पर्ने बताए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए । 

यसअघि फागुन ६ गते हेटौडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् । भेलाको सहजीकरण संघका महासचिव रघुनाथ सापकोटाले गरेका थिए । 
 

Back to top