×

वीरगञ्ज । सुन व्यवसायीहरुको छाता संस्था नेपाल सुन चाँदी व्यवसायी महासंघ तथा रत्न तथा आभुषण संघ र महासंघ भित्र सुनको कोटा दुरुपयोग गरी अवैध कारोवार गरेको भन्दै साना सुन चाँदी व्यवसायीले ई दुवै संघका पदाधिकारीको बैंक खाता तथा सम्पत्ती छानविनको माग गरेका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ र रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका पदाधिकारी र सदस्यहरु रहेको ह्वाटसएप ग्रुपमा संघका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै प्रश्न उठाएपछि ग्रुपमा रहेका अन्य सदस्यहरुले समेत संघका पदाधिकारीहरुको कारोवार, बैंक खाता र सम्पतीको छानविन गर्नुपर्ने माग गरेका लेखेका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचितिमा समस्या देखाउदै सुन आयातमा कोटा प्रणाली लगाएको छ । सोही कोटाको फाइदा उठाउँदै सुनको व्यवसाय सम्वन्धि नेपाल सुन चाँदी व्यवसायी महासंघ र रत्न तथा आभुषण संघका पदाधिकारीले वास्तविक खुद्रा व्यवसायीलाई सुन नदिई भरिया मार्फत भारत तर्फ तस्करी गरेको आरोप संघका सदस्यहरुले लगाएका छन् ।

बैकबाट लिएको सुन भरिया मार्फत भारततर्फ तस्करी गराउने तर बजारमा अवैध रुपमा आएको गुणस्तरहिन सुन विक्रि वितरण हुदै आएको भन्दै सुनचाँदी व्यवसायी संघका सदस्यहरुले संघ र महासंघका पदाधिकारी माथि सरकारले छानविन गर्नुपर्ने माग गरेका छन् ।

व्यवसायी ऋषी ठाकुरले बाणिज्य बैंकमा स्टकमा रहेको सुन कुन व्यापारीले एकै पटक खरिद गरी उक्त सुन कुन कुन व्यवसायीलाई बेचेको हो त्यसको विवरण सदस्यहरुलाई उपलब्ध गराउन माग गरेका छन् । संघका पदाधिकारीले बैंकका कर्मचारीलाई प्रलोभनमा पारी सुन स्टकमा राख्न लगाई १५ दिनको भ्याद पछि एकै पटक खरिद गर्ने गरेको आरोप सदस्यहरुको छ ।

Back to top