×

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर माइक प्रोक्टरको ७७ वर्षको उमेरका निधन भएको उनको परिवारले जानकारी दिएको छ । सन् १९७० मा दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लाग्नुअघि माइकले देशका लागि ७ वटा टेस्ट खेलेका थिए ।

उनले ग्वाउसेस्टरसायरसँग १४ सिजन बिताए भने प्रतिबन्ध फुकुवा भएपछि उनले दक्षिण अफ्रिकाको प्रशिक्षक समेत बनेका थिए । पत्नी मार्यानाका अनुसार उनको शल्यक्रियाका दौरान समस्या देखिएको थियो ।

सन् १९६७ देखि १९७० सम्म उनले खेलेका सातमध्ये ६ वटा टेस्टमा दक्षिण अफ्रिका विजयी बनेको थियो ।  ती सबै खेल अस्ट्रेलियाविरुद्ध खेलिएका थिए । उनले मात्र १५.०२ औसतले ४१ विकेट लिन सफल भएका थिए । तर, प्रतिबन्धका कारण उनको अन्तर्राष्ट्रिय करियर लामो हुन सकेन ।

पहिलो श्रेणीको क्रिकेटमा उनले सन् १९६५ देखि १९८८ सम्म खेल्दै १९.५३ को औसतले १ हजार ४१७ विकेट लिएका थिए ।  लिस्ट ए क्रिकेटमा उनले १८.७६ को औसतले ३४४ विकेट लिन सफल भएका थिए ।

ग्वाउसेस्टरसायरसँग उनले जिलेट कप र बेनसन एन्ड हेजेज कप जितेका थिए । सन् २०२० मा उनी काउन्टीको सबैभन्दा महान् खेलाडी घोषित भएका थिए ।

उनी सन् १९९१ देखि १९९४ सम्म दक्षिण अफ्रिकाको प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा टोली सन् १९९२ विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । उनीपछि आईसीसीको म्याच रेफ्री पनि बनेका थिए ।

Back to top