×

वीरगञ्ज । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ ।

मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो ।

जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् ।

माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिइन् । रुविना क्षेत्रीले ३.५ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन् । पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।

पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । रुविना नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो महिला खेलाडी समेत बनेकी छिन् । नेपालले महिला टी–२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी–२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो ।

नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् । माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन् । नब्बा बिन्थु नसिमले १ विकेट लिइन् । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो ।

नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ ।  क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।

Back to top