×

वीरगञ्ज । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा सोमबार ९ विकेटको फराकिलो जित निकाल्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अनिल साह र भीम सार्कीले शतक बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुवैको मेडन शतक हो । अनिल ११२ र भीम १०१ रनमा नटआउट रहे ।

नेपालको स्कोर ४५ रन हुँदा कुशल भुर्तेललाई व्यक्तिगत १३ रनमा गुमाएको नेपालका लागि अनिल र भीमले उल्लेख्य पारी खेलेका हुन् । उनीहरुले दोस्रो विकेटका लागि नटआउट १८९ रनको साझेदारी गरे ।

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३२ रनको योगफल तयार पारेको थियो ।

नवनित धालिवाल ५०, निखिल दत्त ४५, हर्स थाकर २९, श्रेयस मोभ्भा २५ र श्रीमान्था विजेएरन्थे २२ रनमा आउट भए । क्याप्टेन साद विन जफार ३१ रनमा नटआउट रहे ।

सोमपाल कामीलाई आराम दिँदै उनको स्थानमा सोमबार हेमन्त धामीलाई प्लेइङ सेटमा राखिएको हो । अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु म्याचमा धामीले तीन विकेट लिए । उनले ओपनर आरोन जोनसनलाई ४, श्रेयस मोभ्भालाई २५ र दिलोन हेलिगरलाई ४ रनमा आउट गरे ।

यस्तै कुशल मल्लको नाममा २ विकेट रह्यो । ललित राजवंशी र आकाश चन्दले एक–एक विकेट लिए । एक जना भने रनआउट भए ।

Back to top