×

तस्बिर : क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)

वीरगञ्ज । बाराका अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि आफ्नो पहिलो शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध जारी ओडीआई सिरिजको तेस्रो खेलमा अनिलले पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका हुन् ।

सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अनिलले १ सय १६ बलमा शतक पूरा गरेका हुन् । क्यानडाविरुद्ध उनले ११ चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् ।

नेपालबाट शतक पूरा गर्ने अनिल सातौं खेलाडी बने । उनी शतक प्रहार गर्ने दोस्रो विकेटकिपर हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल बलियो स्थितिमा छ । नेपालले ४०.३ ओभरमा २ सय १८ रन जोडेको छ । भीम ९७ रन जोड्दै क्रिजमा छन् ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

त्यसअघि क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

Back to top