×

वीरगञ्ज । सनलाईट स्कुलका विद्यार्थीहरुको महिनावारी प्याड सम्बन्धी व्यवसायिक अवधारणाले ‘मधेश ब्याटल अफ स्टार्ट अप’ को उपाधि जितेको । २० वटा समूहको सहभागिता रहेको ‘मधेश ब्याटल अफ स्टार्ट अप’ को उपाधी सनलाईट स्कुलका रचना कर्ण, प्रिया सर्राफ, ऋचा चौरसिया र दुर्गा थापाको समूह ‘हेल्थफिट’ ले जितेको हो । विजेतालाई ट्रफी, प्रमाण पत्रसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

स्टडी फाई इन्टरनेशनलले यु एन एफ संस्थाको समन्वयमा आयोजना गरेको मधेश ब्याटल अफ स्टार्ट अप मा २० वटा समूहले आवेदन दिएका थिए । जसमध्ये आवेदन तथा व्यवसायिक अवधारणाको आधारमा १० वटा समूहलाई टस टेनभित्र प्रवेश गराइएको थियो । 

टप टेनभित्रका समूहलाई प्रशिक्षण, तालिम तथा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी स्थापित व्यक्तित्वहरुसँग अन्तरक्रिया तथा छलफल जस्ता विविध कार्यक्रम गराइएको स्टडीफाई का संस्थापक निर्देशक शमिम अनवरले बताए ।

उनका अनुसार सहभागीहरुलाई खल्तीका सह–संस्थापक अमित अग्रवाल, सस्तो डिल्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा, उद्यमी प्रकाश थापा, एभरेस्ट रियल्टी क्यानडाका उपाध्यक्ष अनिल थापा लगायतका उद्यमी तथा व्यवसायीहरुले प्रशिक्षण दिएका थिए । प्रतियोगीतामा रक्तदान, मिनरल वाटर, कपडा प्रिन्ट, नेट मार्ट लगायतका विभिन्न विषयसँग सम्बन्धीत उद्यमशीलताका उपायहरु सहभागीहरुले प्रस्तुत गरेका थिए । 

विद्यार्थीहरुमा उद्यमशीलता र व्यवासायिक अवधारणाको विकास गर्ने र फरक तथा नयाँ विचार भएका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टार्ट अप ब्याटलको आयोजना गरिएको स्टडी फाईका प्रबन्ध निर्देशक अनवरको भनाई छ । 
 

Back to top