×

वीरगञ्ज ।  पर्सा प्रहरीले लागु औषध खैराे हिराेइनसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले खैराे हिराेइनसहित पटेर्वा सुगाैली गाउँपालिकाबाट एक जना पुरुष र वीरगञ्ज महानगरपालिकाबाट एक जना महिलालाई नियन्त्रणमा लिएकाे हाे । 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ निचुटा निवासी २० बर्षिय पुलेमन मुखियालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मुखियाको घरमा खैरो हिरोइन जस्तो देखिने लागु औषधको बिक्री वितरण भैरहेकाे सूचना प्राप्त खटिएको प्रहरी टोलीले निज मुखियाकाे घरमा खानतलासी गर्दा लागु औषध फेला परेपछि उनलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

मुखियाकाे घरबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम, डिजिटल तराजु १ थान र नगद रु २९ हजार ७० रुपैया फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।

यसैगरी प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुर निवासी ३० बर्षिय फुलसन खातुनलाई नियन्त्रणमा लिएकाे छ । 

हनुमान चोक स्थित सडकखण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरी चाैकी परवानीपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक याेगेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेकाे प्रहरीले जनाएकाे छ ।

Back to top