×

पाकिस्तानको आम निर्वाचनको पूरै नतिजा सार्वजनिक नहुँदै दलहरूबीच वक्तव्यबाजीको प्रतिस्पर्धा चलेको छ। मतगणना अन्तिमतिर पुग्न लाग्दा पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग नवाज पीएमएल–एनका नेता नवाज शरिफले विजय मन्तव्य दिएका छन्। तर जारी मतगणनामा उनको पार्टी दोस्रो स्थानमा छ। 

पहिलो स्थानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार छन्, जसले प्रत्यक्षतर्फ निर्वाचन भएका २३६ सिटमध्ये १ सय ७० हाराहारी सिटमा जित हासिल गरेका छन्। पाकिस्तानको संसदमा ३६६ सिट छन्। जसमध्ये २३६ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने ७० सिट महिला तथा अल्पसंख्यक धार्मिक समुदायका लागि आरक्षित छन्। 

यस्तै विलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पीपीपी तेस्रो स्थानमा छ। पाकिस्तानको निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरिसकेको छैन। यद्यपि मुख्यरुपमा पीटीआई, पीएमएल–एन र पीपीपी नै प्रमुख दलकारूपमा अनुमोदित भएका छन्। यसैबीच पीटीआई अध्यक्ष तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको सम्बोधनको एआई भिडियो सार्वजनिक भएको छ। 

भ्रष्टाचार आरोपमा जेल रहेका खानको आवाजमा सार्वजनिक भएको भिडियोमा आफूहरुलाई रोक्न मतगणनामा धाँदली गरिएको र त्यसो गर्दा पनि झण्डै दुई तिहाई मत प्राप्त भएको दाबी गरिएको छ। यस्तै आफ्नो पार्टीभन्दा ३० सिटले पछाडि हुँदै हुँदैसमेत पूर्वप्रधानमन्त्री नवाज शरिफले ‘भिक्ट्री स्पीच’ दिएको भन्दै आलोचना गरिएको छ। खानको एआई भिडियोमा ‘लण्डन योजना नागरिकले भोटमार्फत् असफल पारेको’ दाबी गरिएको छ।

Back to top