×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरुलाई गरेको जरिवानाबाट २४ लाख रुपैयाँ संकलन गरेको छ । १७ पुष २०७९ देखि जरिवाना सुरु गरेको महानगरपालिकाले हालसम्म २४ लाख ६३ हजार रुपैयाँ संकलन गरेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिए । 

उनकाअनुसार महानगरपालिकाले जथाभावी फोहर फाल्ने व्यक्ति र संस्था गरी नौ सय जनालाई जरिवाना तिराएको छ । 
‘‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फाल्ने स्थानीयहरुको प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फाल्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ । 

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको उनले जानकारी दिए । सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनको भनाई छ । 

विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरका रुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।
 

Back to top