×

वीरगञ्ज । सफल, अब्बल र असल अभिनेत्री बन्ने सपनालाई पछ्याउँदै स्नेहा जोशी सपनाको शहर काठमाण्डौमा पुगिन् । बुबा रत्नचन्द जोशी र आमा रुपा जोशीकी माईली छोरी स्नेहा भन्छिन्, ‘मलाई मेरो सादा जीवनका पानाहरु रंगिन शब्दहरुले रंग्याउन मन छ ।’ जिन्दगीका पानालाई रंगिन शब्दहरुले रंग्याउनका लागि अहिले शब्दमा रंग भर्ने काम गरीरहेकी छिन् ।

बाजुराको साबिक बाँधु गाविस (हाल हिमाली गाउँपालिका) मा जन्मिएकी स्नेहा कैलालीको घोडाघोडी नगरपालिकामै हुर्किइन् । घोडाघोडी नगरपालिका वडा नम्बर ४ स्थित रामपुर माविबाटै १० कक्षासम्मको अध्ययन सकाइन् । घोडाघोडी १ सुख्खडस्थित राष्ट्रिय माद्यामिक विद्यालयमा अंग्रेजी र राजनीति शास्त्र विषयमा प्लस टु पढीन् ।

पढाईमा उनी मध्यम थिइन् । न त उनी कहिलै फेल भइन् । न फस्ट हुन नपाएकोमा उनलाई पश्चाताप नै थियो । विद्यालयदेखि नै उनको रुची भने कला र नृत्य क्षेत्रमा थियो । स्कुलमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउँथिन् । बोल्न र मान्छेसँग घुलमिल हुने रुचीकै कारण प्लस टु मा पढ्ने क्रममै उनले कैलाली एफ. एम. मा काम गर्ने अवसर प्राप्त गरिन् । करिब १ वर्षसम्म समाचार लेख्ने, रिपोर्टीङ्ग गर्नेदेखि समाचार पढ्ने र कार्यक्रम चलाउनेसम्मका कामको अनुभब बटुलेपछि स्नातकमा उनले पत्रकारिता पढ्ने अठोट गरिन् । सोही अठोटबमोजिम नै उनी अहिले घोडाघोडी बहुमुखी क्याम्पसमा पत्रकारिता र समाज सेवा विषयबाटै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छिन् ।

छोटो समयमै धेरै अनुभव बटुलीसकेकी स्नेहा नेपालमा भविष्य छैन भन्ने निष्कर्षमा पनि पुगिन् । जसको परिणामस्वरुप उनले कोरियन भाषा समेत सिक्न थालिन् । झण्डै एक महिना जती भाषा पढ्दै जाँदा उनले अभिनय एवम् नाटक क्षेत्रका साथिहरुको संगत पाइन् । जसले उनलाई आफ्नो रुची पहिल्याउन खासै कठीनाई भएन । भनिन्छ, मान्छेलाई जे रुची हुन्छ, त्यही गरेपछि मात्रै सफल भइन्छ ।’

अधिकांश व्यक्तिहरु आफ्नो खुबी र रुची नै थाहा नपाएर के गर्ने/नगर्ने भन्ने द्विविधा र अन्यौलमा फसीरहेको अवस्थामा स्नेहाले आफ्नो गन्तव्य निर्धारण गरीसकेका थिइन् । त्यही गन्तव्यलाई पछ्याउँदै उनले आफ्ना पाइला अनवरत रुपमा चालीरहेकी छिन् । 

‘कोराघाट’ नाटकबाट उनले रंगमञ्चमा डेब्यु गरिन् । यस नाटकमा उनले गरेको अभिनय धेरैले रुचाए । जसले गर्दा अरु नाटकमा पनि उनी नै रोजाईमा पर्न थालिन् । त्यसपछि उनले ‘मानिस हराएको सूचना’ मा पनि काम गरिन् । यसमा उनले गरेको भरत नाट्यमको धेरैले खुलेरै प्रसंशा गरे । स्नेहाले माटोको भाँडो, कालो अक्षर– रातो अक्षर, कल्पान्तर लगायतका नाटकमा पनि काम गरेकी छिन् । आधा  दर्जन बढी म्युजिक भिडियो, शर्ट मूभीहरुमा पनि पनि काम गरेको अनुभब उनले बटुलीसकेकी छिन् । आफुलाई अभिनय र नृत्यमा अब्बल बनाउन सकेमा काम जति पनि पाइन्छ भन्ने उनको मान्यता छ ।

जसअनुरुप उनी अहिले आफ्नो क्षमतालाई तिखार्नमा समय व्यतित गर्दैछिन् । उनी जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाच घर र मण्डला थियटरमा आवद्ध छिन् । बेलुका पख स्क्रिप्ट पढ्न तथा अभ्यास गरेरै समय बिताउने गरेको उनी बताउँछिन् । उनी थप्छिन्, ‘रंगमञ्चको दुनियामा पनि दुःख गर्नुपर्छ भन्ने थाहा थिएन । रंगमञ्चमै लागेपछि बास्तविक जीवन बुझ्न पाए । कलाकारले आफ्नो भन्दा पनि पात्रको जीवन बढी बाँच्नुपर्छ ।’

अभिनय उनको मुख्य रुचीको क्षेत्र हो भने समाजसेवा तथा पुस्तक अध्ययन गर्नु उनका सहायक रुची हुन् । अभिनय गर्छु र अभिनेत्री बन्छु भन्ने सोच र सपना बोकेर घर छोडेकी स्नेहालाई परिवारको साथ र समर्थन भएपनि समाजले भने स्विकारेन । छोरी मान्छे भएपछि बिहे गरेर जानुपर्छ भन्ने सोचले ग्रसित समाजको साँघुरो सोचाइका कारण उनले विभिन्न आरोह अवरोहहरुको सामना पनि गर्नुप-यो। ‘बिहे गर्ने उमेरमा नाच्दै हिँड्छे’ भन्ने जस्ता तिखा बचनहरुले एकछिन उनको मनमा चिसो पसेपनि त्यही बचन उनका लागि थप संघर्ष गर्ने ऊर्जा बनेको छ । 


 

Back to top