×

वीरगञ्ज । वीरगञ्जमा विशाल जुलुश निकालिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको समर्थनमा बिहिवार विशाल जुलुश निकालिएको हो । 

प्रमुख सिंहले निर्वाचित भएदेखि अहिलेसम्मको अवधिमा वीरगञ्जमा गरेका विकास निर्माणका कार्यदेखि अन्य क्षेत्रको सुधार सन्तोषजनक रहेको जुलुशमा सहभागीहरुको भनाई थियो । वैभव वीरगञ्जको अभियानमा अघि बढेका मेयर सिंहलाई राजनीतिक प्रतिसोध साध्नका लागि विभिन्न बाधा अड्चन र विरोध गरेर वीरगञ्जको विकासमा अवरोध गर्नेहरुविरुद्ध प्रदर्शन गरिएको सहभागीहरुले बताए । 

‘दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रो साझा सरोकार’ भन्ने नारासहित निस्किएको जुलुशले वीरगञ्ज बजार परिक्रमा गरेको थियो । वीरगञ्जको वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजले ऐक्यबद्धता जनाएको छ । 

‘वीरगञ्जको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार, राजेशमान छ र त, परिवर्तन सम्भव छ, धेरै आए बोल्ने, बल्ल पाइयो काम गर्ने’ जस्ता नारा लेखिएको प्लेकार्ड जुलुशमा सहभागीहरुले बोकेर नाराबाजी गरेका थिए । 

जुलुशपछि नागरिक समाजले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नागरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्य, जिल्ला समन्वय समिति पर्साका पूर्व संयोजक नेकमहमद अन्सारी लगायतले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत भ्रामक प्रजारवाजी गर्ने र धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने समूहलाई कारवाही गर्न माग गरिएको छ । 

प्रा.डा. शाक्य, अभिषेक तिवारी, प्रभाकर गुप्ता, तेजप्रकाश निषाद, राम गोसाई, जितेन्द्र पटेल, अनुराग श्रेष्ठ लगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । 
 

Back to top