×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट लगातार दुई पटक निर्वाचित दलित महिला सदस्य हुन् संगीता दास । प्रगति नगर निवासी ३२ वर्षीय संगीता वडावासीका लागि मात्रै हैन, महानगरका ३२ वटै वडाका दलित महिला सदस्यका लागि प्रेरणाकी पात्र बनेकी छिन् ।

दलित महिला सदस्यहरू हस्ताक्षरमा मात्रै सीमित छन् भन्ने भाष्य उनको भोगाइमा गलत साबित हुन्छ । वडाका विभिन्न योजनासँगै महानगरमा हुने हरेक गतिविधिमा उनको सक्रिय सहभागिता हुनु यसको एउटा आधार हो । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नातकसम्मको अध्ययन गरेकी संगीता पछिल्लो साढे ६ वर्षदेखि राजनीतिमा सक्रिय छिन् । राजनीतिमा आउनु पूर्वको उनको सङ्घर्ष पनि बेग्लै छ । 

बिहे पछि १२ पास 
घरमा ७ जनाको जहान थियो । बुबा, आमासँगै २ छोरा र ३ छोरी । सन्तानमा सबैभन्दा ठुली संगीता नै थिइन्, त्यसैले घरपरिवार र भाइ बहिनीलाई हेर्ने जिम्मेवारी पनि उनकै पोल्टोमा थियो । कमजोर आर्थिक अवस्थाका कारण जेनतेन गरेर कक्षा १० सम्म उनले अध्ययन गरिन् । पढ्ने, लेख्ने र खेल्ने रम्ने १६ वर्षको कलिलो उमेरमै उनको बिहे भयो । बिहे पनि सामान्य परिवारमै भएको हुँदा उनले काम नगरी हातमुखको जोहो गर्न जटिल हुन्थ्यो । त्यही जटिलतालाई सहज बनाउन उनले बिहे भइसकेपछि प्लस टु पढ्न थालिन् । 

छोरीलाई पढाउन पनि नपठाउने त्यो समयमा उनी अपवाद थिइन् । जो बिहेपछि पनि पढ्न जान्थिन् । त्यति बेला औँलामा गन्न सकिने छोरीहरू मात्रै क्याम्पसमा हुन्थे । त्यही सङ्ख्याभित्र अटाउँथिन् संगीता । जसलाई श्रीमानले पनि पढ्न र काम गर्नमा कुनै रोकटोक गरेनन् । घरपरिवारको जिम्मेवारीसँगै उनले कक्षा १२ पनि उत्तीर्ण गरिन् । त्यसपछि उनले होम ट्युसन पढाउन थालिन् । जसले गर्दा थोरै भए पनि घर खर्च चलाउन टेवा पुग्थ्यो । सोही समयमा उनले एक निजी स्कुलमा अध्यापन गर्ने अवसर प्राप्त गरिन् । त्यही बेला उनले एक छोरालाई पनि जन्म दिइन् ।

बिहेपछि बाह्र पढेजस्तै उनले छोरा जन्मिएपछि स्नातक पढ्ने अठोट गरिन् । त्यही आँटको परिणाम स्वरूप उनको नाम अचेल पढेलेखेको, जान्ने र बुझ्ने मधेसका दलित महिला सदस्यहरूको अग्रपङ्क्तिमा आउँछ । स्नातक पढ्दै गर्दा उनले एक निजी स्कुलमा अध्यापन पनि गराइन् । करिब ४ वर्षसम्म अध्यापन गराउँदा उनलाई शिक्षिका बन्छु र पढाउँछु भन्ने नै लाग्थ्यो । राजनीति गर्छु भनेर उनले सोचेकी पनि थिइनन् । 

शिक्षक सेवा आयोगको लिखित परीक्षामा नाम निकालेर मौखिकमा फालिएको क्षण स्मरण गर्दै उनले भनिन्, ‘देशमा सङ्घीयता आइसकेपछि पहिलो चुनावको माहौल चल्दै गर्दा म राजनीतिमा आए ।’ दलित महिला सदस्यको उम्मेदवार खोज्ने क्रममा उनी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नजरमा परिन् । पढेलेखेको दलित समुदायको महिलालाई राजनीतिमा ल्याउनुपर्छ भन्ने सोचअनुरूप नै उनलाई उम्मेदवार बनाएको प्रमुख सिंहले बताए ।

उनी त्यति बेला राष्ट्रिय जनता पार्टीमा आबद्ध थिइन् । निकटतम प्रतिद्वन्द्वीलाई ४५८ मतको फराकिलो अन्तरले पराजित गर्दै संगीता ९८५ मत पाएर निर्वाचित भइन् । पहिलो कार्यकाल उनको अनुभवमै बित्यो । तथापि उनकै नेतृत्वमा विभिन्न योजनाहरू पनि सफल भए । उनले महिलाका लागि विभिन्न सीपमूलक तालिमदेखि लिएर अन्य योजनाहरू आफ्नै नेतृत्वमा आयोजना गरिन् । सिलाइकटाई, ब्युटिसियन तालिमसँगै भ्रमण एवम् तिज तथा महिला लक्षित पर्व विशेष योजनामा पनि वडा अध्यक्ष र महानगर प्रमुखले उनलाई नै पत्याउँछन् । 

पहिलो कार्यकाल केही कामसँगै केही सिकाइको अनुभव बटुलेकी संगीताले दोस्रो स्थानीय तहको निर्वाचनमा पुनः सोही पदमा दोहोरिएर सशक्त ढङ्गले काम गर्ने अठोट गरिन् । सोही अठोट बमोजिम जनता समाजवादी पार्टी (जसपा) ले पुनः दलित महिला सदस्यको उम्मेदवार बनायो र उनी १५ सय ४५ मत पाएर दोस्रो पटक पनि निर्वाचित भइन् । जनप्रतिनिधि अझ त्यसमा पनि दलित महिलाको प्रतिनिधित्व गर्नुपर्ने भएपछि आफूसँगै जिम्मेवारी थपिएको उनी बताउँछिन् । आफूसँग सबै जना बोल्ने र वडामा बाटोघाटो बिग्रिएको अवस्थामा वडावासीले वडासम्म खबर पु¥याउन आफूलाई लगाउने गरेको उनको भनाइ छ । 

क्रियाशील कान्छी जनप्रतिनिधि
पर्साको पटेर्वासुगौली गाउँपालिकाका ५ वडामध्ये सबैभन्दा कान्छो उमेरकी जनप्रतिनिधि हुन् सजिना वि.क. । उनी वडा नम्बर २ बाट ७९५ मत पाएर २४ वर्षकै उमेरमा दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् । पछि उनी कार्यपालिका सदस्यमा पनि निर्वाचित भइन् । सजिना दलित कार्यपालिका सदस्य सञ्जाल पर्सा जिल्लाकी अध्यक्ष पनि हुन् । दलित महिला सदस्यलाई कुनै प्रभावकारी अधिकार नदिएको उनको गुनासो छ । उनी भन्छिन्, ‘अहिले पनि नामको लागि मात्रै यो पद राखिएको छ, अधिकांश दलित महिला सदस्यहरू उपस्थितिमा मात्रै सीमित छन्, कार्यपालिका सदस्यको स्थानीय सरकार सञ्चालन ऐनअनुसार धेरै भूमिका छैन । हामीले आफ्ना कुरा राख्ने मात्रै हो, तर आफ्नो समुदायका मुद्दा उठाउन पनि अत्यन्तै गाह्रो छ ।’ 

‘जनताको सुख दुखमा साथ दिने तथा जनतालाई वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुखसँग भेट्न र कुरा राख्न समन्वय गराइदिने जस्ता कामहरू हामीले गरी रहेका छौँ’, उनले भनिन् । पालिकाका विभिन्न बैठक तथा बोर्ड बैठकमा आफूले राखेका कुरा सम्बोधन हुने गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले दलित बस्ती निर्माणसँगै दलित तथा विपन्न समुदायलाई आइपर्ने विभिन्न समस्यामा आर्थिक सहयोग जुटाउन पनि पहल गर्दै आएकी छिन् । वडाध्यक्ष, पालिका उपाध्यक्ष, अध्यक्ष लगायतका जनप्रतिनीधिहरूले पनि उनको सक्रियताको सह्राना गरेका छन् । 

एक्लै बोल्दा र सामूहिक रूपमा बोल्दा फरक पर्ने उनको अनुभव छ । त्यसैले उनी आफ्नो समुदायका कुनै समस्या तथा मुद्दाको बारेमा बोल्नुपरेमा अन्य दलित महिला सदस्यहरूलाई पहिलै सम्झाउँछिन् र समर्थन जनाउन लगाउँछिन् । मधेस प्रदेश सरकारले पारित गरेको दलित सशक्तीकरण ऐनमा उल्लेख भएबमोजिम हरेक पालिकामा दलित विकास समिति गठन गर्नुपर्ने प्रावधान छ । पर्सा जिल्लामा सबैभन्दा पहिला उक्त समिति गठनका लागि सजिनाले नै दबाब दिइन् । फल स्वरूप हाल त्यहाँ दलित विकास समिति पनि गठन गरिएको छ । यद्यपि अपेक्षाअनुसारको सक्रिय नरहे पनि कार्यक्रम तथा अन्य गतिविधि सञ्चालन गर्ने योजना भइरहेको उनको भनाई छ । 

कक्षा १२ उत्तीर्ण गरेपछि उनको बिहे भयो । जसले गर्दा केही समय अध्ययन रोकिए पनि हाली उनी सखुवाप्रसौनीस्थित श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा डिप्लोमा ईन सिभिल इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत छिन् । बिहेपछि पनि आफूले पढ्न पाउनु र राजनीतिमा सक्रिय रहन पाउनुको श्रेय उनी आफ्ना श्रीमान् दीपक कुमार रसाइलीलाई दिन्छिन् । ‘श्रीमान्, सासू, ससुरा, सबैको राम्रो सहयोग छ । तालिम तथा अन्य कार्यक्रममा बाहिर हिँडिराख्नुपर्छ । अरू वडा सदस्यहरू आफ्नो श्रीमानलाई लिएर आउँदा म एक्लै जान्छु ।’ 

हस्तक्षेप गर्न नडराउने फूलमाया 

पर्साको ठोरी गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् फुलमाया दर्जी । उनी ठोरी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी ३ मतको झिनो अन्तरले पराजित गर्दै नेकपा एमालेबाट उनी दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

ठोरीकै सरस्वती माविबाट एसएलसी दिएकी उनले हेटौडाको प्रगति क्याम्पसबाट नेपाली विषयमा प्लस टु सकाइन् । स्नातक पहिलो वर्षको परीक्षा दिएपछि उनले बिहे गरिन् । उनीसँग निमावि तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) पनि छ । उनले जागिरका लागि धेरै ठाउँमा प्रयास गरिन् । ‘लाइसेन्स पनि निकालेपछि जागिरका लागि धेरै प्रयास गरे, तर हाम्रो समुदायको सोर्सफोर्स नै पुग्दैन ।’ उनले थपिन्, ‘राजनीतिमा लागेपछि मात्रै सबैले चिन्छन् भनेर टिकट फिक्स भएपछि मात्रै मैले पार्टीको झन्डा समाउने निर्णय गरेकी हुँ ।’ 

दोस्रो स्थानीय तहको निर्वाचन नजिकिएको बेला नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर क्षेत्रीले उनलाई दलित महिला सदस्यको उम्मेदवार बन्न प्रेरित गरे । त्यसपछि उनी एमालेबाटै दलित महिला सदस्यको उम्मेदवार बनिन् र ६३९ मत पाएर पहिलो पटकमै निर्वाचित भइन् ।

दलित समुदायभित्र पढेलेखेको र बोल्न सक्ने भएको हुँदा उनी जत्तिकै योग्य व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने हेतुले वडावासीले पनि उनलाई पत्याए । उनी सक्षम र योग्य उम्मेदवार हुन् भन्ने कुरालाई पुष्टि गर्ने आधार हो, नेकपा एमालेबाट उनी मात्रै वडामा निर्वाचित जनप्रतिनिधि हुनु । वडामा पार्टीबाट एक्लो जनप्रतिनिधि भए पनि उनी आवश्यक कुरामा बोल्न र चित्त नबुझेको निर्णयमा हस्तक्षेप गर्न भने डराउँदिनन् ।

निर्वाचित भएको पहिलो वर्षमा के काम गर्नुपर्छ, आफ्नो अधिकार के हो भन्ने कुराको अन्योलमै रहेकी उनी विभिन्न तालिम, कार्यशाला तथा कार्यक्रममा सहभागी भएपछि भने आफ्नो अधिकारको बारेमा स्पष्ट छिन् । त्यसैले उनी निर्णयहरू पढेर बुझेर मात्रै हस्ताक्षर गर्छिन् ।

उनी काठमाडौँ, वीरगञ्ज जनकपुर लगायतका विभिन्न ठाउँमा भएका कार्यक्रमहरूमा पनि सहभागी भएकी छिन् । अब पार्टीले वडाध्यक्ष, पालिका उपाध्यक्ष जस्ता पदमा उम्मेदवार बनाएपछि आफू पछि नहट्ने उनीमा आत्मविश्वास छ । उनी भन्छिन्, ‘पार्टीले जुन जिम्मेवारी दिए पनि म अब पछि हट्दिन ।’ राजनीतिक दलले लेखपढ गर्न सक्दैन जे भन्यो त्यही मान्छ भनेर उम्मेदवार छनौट गर्ने प्रवृत्तिको उनी विरोध गर्छिन् ।

Back to top