×

फाइल तस्बिर ।

वीरगञ्ज । रोजगारको लागि बिदेसिने युवाहरू ठगिने, हराउने तथा ज्यान गुमाउनेहरूको सङ्ख्या पर्सामा बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । अधिकांश युवायुवती एजेन्ट तथा म्यानपावर कम्पनीबाट बेपत्ता पारिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको आप्रवासी स्रोत केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म छ महिना अवधिमा वैदेशिक रोजगारमा गएका ६९ जना युवायुवती ठगिएका छन् भने गत आर्थिक वर्ष २०७९/८० मा १३४ जनाले आफू ठगिएको भन्दै उजुरी दर्ता गराएका थिए ।

वैदेशिक रोजगारमा जानको लागि स्रोत केन्द्रले राहदानी पहिचान, ठगिनुबाट कसरी बच्ने तथा अलपत्रमा परेकाहरूलाई परिवारको सम्पर्कमा ल्याउने, दोषीलाई कानुनी दायरामा ल्याउने जस्ता काम गरिरहेको छ । केन्द्रका अनुसार गत आवमा ६ हजार ८६० जना युवा वैदेशिक रोजगारमा गएका थिए । चालू आवको साउनदेखि पुससम्म तीन हजार १६५ जनाले राहदानी बनाइसकेका र अधिकांश वैदेशिक रोजगारमा जाने तयारीमा छन् ।

केन्द्रका अनुसार साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारको क्रममा पर्साका बेपत्ता र ठगिएका ६९ जनाका परिवारले केन्द्रमा उजुरी दर्ता गराएका छन् । सोमध्ये विदेशमा पाँच जनाको मृत्यु भएको छ भने केहीलाई स्रोत केन्द्रले क्षतिपूर्ति उपलब्ध गराइसकेको छ ।

पर्साबाट स्थानीय ठगहरूको प्रलोभनमा परी मोटो रकम दिएर वैदेशिक रोजगारमा जाने गरेकाहरू विदेशमा भनिए अनुसारको काम नपाउने गरेका र कतिपय घटनामा वैदेशिक रोजगारमा पठाउने भनी रकम ठगी गरेका उजुरीहरू पनि पर्ने गरेको केन्द्रले जनाएको छ । त्यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा समस्या समाधान भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

केन्द्रले दिएको जानकारी अनुसार वैदेशिक रोजगारमा गएका र तिनीहरूका परिवारले ठगहरू विरुद्ध दिएका उजुरीमा पटेर्वासुगौली गाउँपालिका – ३ सोनवर्षा निवासी अर्जुन महतो थारु र श्रीराम राउत थारुले सोही स्थानका नरेन्द्र गिरीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।

वीरगञ्ज महानगरपालिका–१० पानीटङ्की निवासी मोहम्मद नसीम देवानले सोही वडा निवासी समना खातुनविरुद्ध ठगी मुद्दा दिएका छन् भने कलैया उपमहानगरपालिका–११ निवासी अफरोज अन्सारीले वीरगञ्ज – ३ छपकैया निवासी रियाज मियाँविरुद्ध, कलैया – २६ महेशपुर निवासी लाल हुसेन मियाँ, प्युठान राजबारे गाउँपालिका निवासी आले मगर, कलैया – २६ महेशपुर निवासी शिवनाथ राउतले वीरगञ्ज – २४ रामगढवा निवासी धीरज चौधरीविरुद्ध ठगी मुद्दा दायर गराएका छन् । वीरगञ्ज – २७ निवासी किशोरी महतो, मनु महतो नुनियाले सोही वडाको उदयपुरघुर्मी निवासी मोहन महतोविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् । वीरगञ्ज – ८ पानीटङ्कीका महेश महर्जनले वीरगञ्ज – १२ मुर्ली निवासी सरोजकुमार साह, पटेर्वासुगौली गाउँपालिका – ५ निचुटा निवासी भिखारी देवानले वीरगञ्ज – २० रतनपुर निवासी अख्तर मियाँ अन्सारी, पर्सागढी नगरपालिका – ५ पचरुखी निवासी सोस्तम मियाँले वीरगञ्ज – ३ छपकैया निवासी रेयाज अन्सारीविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

यसै गरी, कलैया – ७ निवासी कासिम अन्सारीले वीरगञ्ज – २९ अख्तर मियाँ, वीरगञ्ज – २७ अठराहा निवासी माधोप्रसाद पटेलेले सोही वडा निवासी हर्षनारायण आर्य, बहुदरमाई नगरपालिका – ७ फूलकवल निवासी रामसागर यादवले सखुवाप्रसौनी गाउँपालिका – ६ लखनपुर निवासी योगेन्द्र ठाकुर हजामविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।

सखुवाप्रसौनी गाउँपालिका – २ निवासी दिलीपराय भरले सोही गापा सखुनिया निवासी सराजुल मियाँ धोबी, पर्सागढी – ४ हरदासपुर निवासी हरेन्द्रप्रसाद पटेलले वीरगञ्जको सुगौलीका राजेन्द्रराउत कुर्मी तथा पर्सागढी – १ मनवा निवासी बह्मदेव महतोविरुद्ध, सखुवाप्रसौनी – २ राजाबाबू पञ्जियार र पटेर्वासुगौली – ५ निवासी विशाल दास थारुले जीराभवानी–४ गणेशमहतो थारूविरुद्ध, कालिकामाई–२ भेडियारी निवासी दुर्योधन साह कानूले सोही गापाका जीतेन्द्र प्रसाद र रामबाबूसाह गोढविरुद्ध, कलैया–२३ निवासी अशोककुमार साह र कृष्णसाह कानूले बहुदरमाई–५ निवासी सुरेश महतो धानुक, पर्सागढी–४ निवासी उपेन्द्र महतो ओझैया र दीपक रामले सखुवाप्रसौनी निवासी जीतेन्द्र ठाकुरविरुद्ध, कलैया–२६ महेशपुर निवासी कृष्णसाह कलवारले वीरगञ्ज–२४ रामगढवा निवासी धीरज चौधरीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् । यसै गरी, सखुवाप्रसौनी–२ निवासी रामचन्द्र चौधरी थारु बेपत्ता पारिएको उजुरी परेको छ ।

यसै गरी, पकहामैनपुर–४ भेलहा निवासी रामबाबू साहले सोही वडा निवासी सरोजकुमार पटेलविरुद्ध, पोखरिया–३ वसन्तपुर निवासी आकाशकुमार कलवारले वीरगञ्ज–११ श्रीपुर महमद आलमविरुद्ध र बाराको फेटा–१ भरवलिया निवासी रामबाबूसाह कानूले बहुदरमाई–१ निवासी चोकट सहनीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।

उजुरी परेकाहरूलाई बारम्बार ताकेता गरिएको तर उनीहरू सम्पर्कमा नआएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Back to top