×

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट ४ महिनामा साढे ३ करोड भन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्सा तथा मातहतका युनिटहरुबाट खटिएको टोलीले ३ करोड ६३ लाख ९२ हजार २५४ रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको हो । 

भदौ २० गतेदेखि माघ २ गतेसम्मको अवधिमा उक्त मूल्य बराबरको लत्ताकपडा, किराना, हार्डवेयर, काठ र इलेक्ट्रोनिक्स सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १० लाख ७८ हजार ५ सय अवैध नगद रुपैयाँ पनि बरामद गरिएको छ । 

यही अवधिमा विलविजक भन्दा फरक एवम् बढी माल सामान भएको तथा प्रज्ञापन पत्र बिना सामानको ढुवानी गरी राजस्व छलीमा संलग्न ९ वटा ट्रक पनि नियन्त्रणमा लिइएको उनले यात्रा डेलीलाई बताए । जम्मा ४१ लख ३० हजार ५३६ रुपैयाँ बराबरका ९ वटा ट्रकसँगै १ वटा ट्याक्टर पनि नियन्त्रणमा लिइएको छ । 

त्यस्तै सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध पनि बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले यात्रा डेलीलाई उपलब्ध गराएको कार्यप्रगती प्रतिवेदनमा उल्लेख भए अनुसार १८४.१ केजी गाँजा, १.२ केजी चरेश, १ एम्पुल डाइजेपाम, फेनार्गन ५ एम्पुल, २२५ ट्याबलेट नाईट्रोभेट, टर्माडोल हाइड्रोक्लोराइड क्याप्सुल १२ सय गोटा बरामद गरिएको छ । 

विभिन्न गैरकानुनी कार्य तथा अपराधिक गतिविधिमा संलग्न ८४ जनालाई पक्राउ गरिएको पनि उनले जानकारी दिए । कर्माचार्यका अनुसार बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिहरुलाई सम्बन्धीत कार्यालयको जिम्मा लगाइएको छ । 

पछिल्लो ४ महिनाको कार्यप्रगति हेर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नछोडेको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यको भनाई छ । अवैध रुपमा हुने कारोवार तथा राजस्व छली गर्ने गतिविधिलाई निरुत्साहित गर्नेतर्फ सशस्त्र प्रहरी क्रियशिल रहेको उनले बताए । 

Back to top