×

वीरगञ्ज । गोली प्रहार गरी एक करोड फिरौती माग्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिवार पत्रकार सम्मेलन आयोजन गरी घटनामा संलग्न हेटौँडा – १ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूले गत मङ्सिर १८ गते रातीको समयमा हेटौँडा – ९ स्थित सूर्य प्रसाद पौडेलको घरमा गोली प्रहार गरेका थिए । पौडेल परिवारका अनुसार पटक–पटक गरी करिब आधा दर्जन बढी गोली प्रहार भएको थियो ।

घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल सहितको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा घटनास्थलको क्षेत्रबाट पेस्तोलको गोली, प्रहार भएको गोलीका खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल क्षेत्रको सिसी क्यामेराको फुटेजको आधारमा अपराधीहरूको गरी उनीहरूलाई हेटौँडा – १० बाट पक्राउ गरिएको एसपी रिजालले बताए । रिजालका अनुसार घटनाको मुख्य योजनाकार  पौडेल रहेको पनि जानकारी गराए । पौडेलकै योजना अनुसार घरमा गोली प्रहार गर्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती माग गरिएको एसपी रिजालको दाबी छ ।

रिजालका अनुसार पक्राउ परेका युवाहरू ठेक्कापट्टादेखि लागूऔषध कारोबारमा समेत संलग्न रहेका छन् । उनीहरूले लागूऔषध कारोबारकै लागि हेटौँडा – ४ हुप्राचौर क्षेत्रस्थित एक घरमा डेरा समेत लिएर बस्दै आएको अनुसन्धानका क्रममा खुलेको रिजालले बताए ।

प्रहरीले सोही डेराबाट सेमी अटो पेस्तोल एक थान, त्यसमा लाग्ने २० राउन्ड गोली, विभिन्न कम्पनीका ५ थान, पेस्तोल सफा गर्ने रड, लागूऔषध खैरो हिरोइन २ दशमलव ४० ग्राम, लागूऔषध जोख्ने विद्युतीय तराजु, नगद ५० हजार बरामद गरिएको रिजालले जानकारी दिए । उनीहरूले प्रयोग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति दिएर ज्यान, लागूऔषध र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रिजालले बताए ।

Back to top