×

वीरगञ्ज ।  सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले पछिल्लो ३ महिनाको अवधिमा २ करोड ४२ लाख भन्दा बढीको अवैध सामग्री नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्साको नेतृत्व सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले सम्हालेदेखि अहिलेसम्म २ करोड ४२ लाख ५९ हजार ५२६ रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिइएको हो । भदौ २० गतेदेखि मंसिर २० गतेसम्म अवैध १० लाख नगद बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

कर्माचार्यकाअनुसार सोही अवधिमा २ करोड २५ लाख ४ हजार ५१५ रुपैयाँ बराबरको लत्ताकपडा, किराना, हार्डवेयर र इलेक्ट्रोनिक्स सामानहरु नियन्त्रणमा लिइएको हो । भन्सार छलेर अवैध रुपमा चोरी निकासी पैठारी गरी ल्याइएका उक्त मूल्य बराबरका सामग्री थप अनुसन्धानका लागि सम्बन्धीत भन्सार कार्यालय तथा राजस्व कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले जानकारी दिए । ७ लाख ५५ हजार १२ रुपैयाँ बराबरको ३१५.१२ क्यूबिक फिट अवैध काठ पनि बरामद गरिएको उनले बताए । 

सशस्त्र प्रहरी बल पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार बिलविजक भन्दा फरक एवम् बढी सामग्री भएका तथा प्रज्ञापन पत्र बिना सामान ढुवानी गरी राजस्व छलीमा संलग्न रहेका विभिन्न सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । १ वटा ट्याक्टर र १० वटा ट्रक नियन्त्रणमा लिइएको तथ्यांकमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण तथा मातहतका पर्सा जिल्लाका सशस्त्र प्रहरी युनिटहरुले प्रतिबन्धित लागूऔषध पनि बरामद गरेका छन् । ३ महिनाको अवधिमा १.१ किलोग्राम गाँजा, १.२ किलोग्राम चरेस, डाइजेपाम १ एम्पुल, फेनार्गन ६ एम्पुल, नुर्फिन ४ एम्पुल र २२५ ट्याबलेट नाइट्रोभेट बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । यही अवधिमा विभिन्न अपराधिक एवम् गैरकानुनी गतिविधिमा संलग्न रहेका ६५ जनालाई सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

खुला सीमाका कारण पर्सा जिल्लामा काम गर्न चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको यात्रा डेलीसँगको कुराकानीमा सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले दाबी गरे । 
 

Back to top