×

वीरगञ्ज । किर्ते ठगी मुद्दामा संलग्न पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेल सम्पर्कविहिन छन् । लगातार २ पटक वडाअध्यक्षमा निर्वाचित भएका पटेलले २०७५ सालमा पदको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गरेका थिए । 

उनले स्थानीय विकाशप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएर सिफारिस गरेका थिए । मृतक बुबाको निवृत्तिभरणको लागि आफ्नी पत्नीलाई विकाशले आफ्नी कान्छी आमा बनाएका थिए भने सो कार्यमा वडाध्यक्ष पटेलले सिफारिश गरेका थिए ।

वास्तविक कुरा थाहा हुँदाहुँदै वडाध्यक्ष पटेलले विकाशकी पत्नीलाई निजकी कान्छी आमा भएको सिफारिश गरेपछि विकाशले बुबाको मृत्युपश्चात् पत्नीलाई कान्छी आमा बनाएर निवृत्तिभरण बुझ्दै आएका थिए । विकासले विगत पाँच वर्षदेखि निवृत्तिभरण बुझ्दै आएका थिए ।

घटना बाहिरिएपछि शुरूमा ढाकछोप गरिएको थियो तर अहिले मुद्दा परेपछि पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ । तर यसै घटनाका सिफारिशकर्ता वडाध्यक्षलाई भने प्रहरीले पक्राउ गरेको छैन । उनी करिब २ सातादेखि कार्यालयमा नभेटिएको स्थानीय बताउँछन् । 

यात्रा डेलीलाई प्राप्त सूचनाअनुसार कुनै सिफारिस वा केही काम भएमा वडा कार्यालयका कार्यालय सहयोगी मुकेश यादवले वडाअध्यक्ष पटेलसँग काम गराएर ल्याउने गरेका छन् । त्यसैले सिफारिस लगायतका वडाका काममा कुनै समस्या नभएको एक सेवाग्राहीले नाम नबताउने शर्तमा बताए । यसअघि पर्सा प्रहरीले सोही मुद्दामा संलग्न बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी संगीता देवी यादवलाई पक्राउ गरेको छ । 

७ दिन थुनाा राख्ने आदेशअनुरुप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै वडाअध्यक्ष पटेलको खोजी पनि भइरहेको प्रहरीले बताएको छ । 
 

Back to top