×

फाईल फोटो

वीरगञ्ज । आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ ।

प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभाव भएको हो ।

भारतबाट आउँदै गरेका केही गाडी प्याज एकदुई दिनमा आइपुगे पनि भारतले निर्यात नखोलेसम्म सहज नहुने आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए ।

उनका अनुसार सरकारले नै भारतसँग प्याज आयातका लागि सहजीकरण नगरे अभाव चुलिने बताए। भारतले आगामी मार्चसम्म प्याज निर्यातका लागि रोक लगाएको छ ।

आलु उत्पादनको मौसम भएका कारण स्थानीय उत्पादनले पर्याप्त हुन्छ। काठमाडौं उपत्यकामा दैनिक करिब ७० टन प्याज र १५० टन आलु खपत हुने महासचिव गजुरेलले जानकारी दिए।

Back to top