×

वीरगञ्ज । नेपाल एसिसी यू१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५६ बलमा ५ चौकासहित ५० रनमा आउट भए । मोहम्मद जिशान ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । जिशानले बलिङमा ६ विकेट लिएका थिए ।

नेपालका गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर २ विकेट लिए । आकाश त्रिपाठीले १ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो यू१९ अन्तर्राष्ट्रिय क्रिकेटमा उत्तमको यो दोस्रो अर्धशतक थियो ।

नेपालको ब्याटिङ सुरुमा सम्झन लायक थिएन । एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट हुन पुगेका थिए ।

ओपनर विपिन रावल ७ रनमा आउट भएका थिए । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिएका थिए ।

अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए ।

गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो । टोलीका प्रमुख खेलाडी गुलशन आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

विशाल विक्रम केसी १, तिलक भण्डारी शून्य, सुभाव भण्डारी ८ र आकाश चन्दले ५ रन बनाए । पाकिस्तानको जितमा तीव्र गतिका बलर मोहम्मद जिशानले ९.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । उबेद शाह र अली असफन्दले समान १ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार भारतसँग खेन्नेछ ।

Back to top