संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गाजामा जारी इजरायली आक्रमणले सर्वनाशको अवस्था निम्त्याएको बताएका छन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले जारी राखेको कारबाहीले २ महिनामा गाजामा सर्वनाश हुँदै गएको र यो अवस्था थप विकराल बनेको उनीहरूले बताएका हुन्।
राष्ट्रसंघीय एजेन्सी र तिनका २७ वटा सहायता संगठनले एक संयुक्त विज्ञप्ति जारी गरी तत्काल युद्ध नरोके त्यहाँ मानवीय सहायता पूर्णरूपमा बन्द हुने बताएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको जनाएका छन्।
इजरायली सेना खान युनिस शहरस्थित हजारौँ विस्थापितले शरण लिएको शिविरमा छिरेर आक्रमण गरेको एजेन्सीहरुले बताएका छन्, जहाँबाट केही व्यक्तिलाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ।
यसैबीच इजरायल–प्यालेस्टाइन संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ। डिसेम्बर महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष देश एकुवाडोरले बैठक आह्वान गरेको हो। राष्ट्रसंघले यसअघि नै गाजामा जारी आक्रमण तत्काल रोक्न इजरायललाई दबाब दिँदै आएको छ । तर इजरायलले हमासको अन्त्य नगरी युद्ध नरोक्ने प्रतिक्रिया दिइरहेको छ।