×

बारा । कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेशकुमार सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै निजी तथा आवासीय विद्यालयका दुई संगठनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामार्फत गृह मन्त्रालयलाई बुधवार ज्ञापन बुझाउदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) बारा र निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाराले संयुक्तरुपमा आठ दिने विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुझाइएको ज्ञापनपत्रमा दुवै संगठनले सर्राफ हत्या प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

एनव्याब्सन बाराका अध्यक्ष प्रभुलालप्रसाद कुशवाहा र प्याब्सन बाराका कार्यवाहक अध्यक्ष चुमनबाबु केवटद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बारा प्रहरीले सर्राफ हत्या प्रकरणमा गरेको अनुसन्धान एक प्रतिशत मात्रै पुरा भएको दावी गरिएको छ ।

उनीहरुले हत्यामा संलग्न दोषी पक्राउ नपरेसम्म आन्दोलन गर्ने भन्दै मंसिर २७ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

त्यसैगरी सार्वजनिक गरिएको विरोधको कार्यक्रमअनुसार मंसिर २१ गते बिहीवार कलैयामा मैनबत्ती जुलुस गरिएको छ भने शुक्रवार -याली र कोणसभा, २३ गते दुई घण्टा यातायात र बजार बन्द, २४ गते चार घण्टा यातायात बन्द, २५ गतेदेखि जिल्लाभरिका विद्यालय अनिश्चितकालिन बन्द, २६ गतेदेखि प्रदेशभरीका विद्यालय अनिश्चितकालिन बन्द गर्ने रहेको छ ।

यता प्रहरीले भने सर्राफ हत्या प्रकरणका सम्बन्धमा कार्तिक १५ गते पत्रकार सम्मेलन गरी पाँच जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले कलैया उपमहानगरपालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनवकुमार सिंहलाई सार्वजनिक गर्दै अन्य फरार रहेको बताएको थियो ।

निजी विद्यालयका दुई संगठनले भने रुपेशको हत्यामा संलग्न हत्यारा अझै नसमातिएको दावी गरेका छन । उनीहरुले हत्यारालाई पक्राउ गर्न र निर्दोशलाई रिहा गर्न माग पनि गरेका छन् ।

Back to top