×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ ।

नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरूका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगर क्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरूका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’को योजना ल्याइएको बताए ।

नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर २० वर्ष पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रूपमा विवाह गरिदिने उनको भनाइ थियो ।

मनरा शिसवा नगरपालिकाले ११ औँ नगर सभाबाट नगर क्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका वर वधूलाई सामूहिक विवाहसम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए । 

मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए । निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एकै चोटी एउटै मण्डपमा सबै दुलाहा दुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

तराई–मधेसमा दाइजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रूपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगर सभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ थियो । उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहा दुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ । 

नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रूपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने सर्त राखिएको जनाउँदै विशेष गरी नगर क्षेत्रभित्रका केटीलाई लक्षित गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए । उनले पहिलो पटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

Back to top