×

वीरगञ्ज । वीरगञ्जमा आयोजना हुन लागेको “प्रो क्लब च्याम्पियनसिप (पीसीसी)” को दोस्रो संस्करण कान्तिपुर एचडी टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रत्यक्ष प्रसारणका लागि आयोजक पर्सा क्रिकेट एसोसिएसन, जोरा इन्टरनेशनल र कान्तिपुर टेलिभिजनबिच त्रिपक्षीय सम्झौता समेत भएको छ ।

पीसीसीले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता बारे जानकारी दिएको हो । सम्झौता पत्रमा पर्सा क्रिकेट एसोसिएसनको तर्फबाट टुर्नामेन्ट निर्देशक दाउद अन्सारी, जोरा इन्टरनेशनलको तर्फबाट सेन्भी चापागाईँ र कान्तिपुर टेलिभिजनको तर्फबाट जीएस दाहालले हस्ताक्षर गरेका छन् ।

यही पुस ५ गतेदेखि १४ गतेसम्म (डिसेम्बर २१ देखि ३० सम्म) वीरगञ्जस्थित नारायणी रङ्गशालामा चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ६ टिमबिच प्रतिस्पर्धा हुने पर्सा क्रिकेट एसोसिएसनका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

पीसीसी प्रतियोगिताअन्तर्गत ६ वटा घरेलु र अन्तर्राष्ट्रिय क्लबहरूको सहभागितामा १९ वटा खेल हुने सिंहले बताए । प्रतियोगिता आयोजनाका लागि क्रिकेट एसोसिएसन अफ नेपालले समेत स्वीकृत प्रदान गरिसकेको उनले बताए ।

पीसीसी मार्फत वीरगञ्जमा रहेको क्रिकेटको सम्भावनालाई उजागर गर्दै जीर्ण बनिसकेको नारायणी रङ्गशालाको जीर्णोद्धार गराउने आफ्नो उद्देश्य रहेको सिंहले भनाइ छ । त्यस्तै प्रतियोगिताको सञ्चालनले पर्सा क्रिकेटको एउटा राम्रो सम्भावना भएको क्षेत्रको रूपमा स्थापित गराउन सहयोग मिल्ने उनको विश्वास छ । क्लब क्रिकेट संस्कृतिको विकासले मात्र राष्ट्रका लागि क्रिकेट भन्ने कुरा सफल हुने सिंहले बताए । प्रतियोगिताले वीरगञ्जको व्यापारमा विकास र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनले दाबी गरे ।

खेलाडीलाई अनुभवी बनाउने, सीप हस्तान्तरण गर्ने, खेल प्रति आकर्षण बढाउने र पर्सामा खेलकुद सम्बन्धित पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान दिने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको सिंहले बताए ।

अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

Back to top