×

विराटनगर । विराटनगरमा भ्रामक/मिथ्या सूचना विरुद्धको कार्यशाला सम्पन्न भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक/मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उद्देश्यले आयोजना गरेको कार्यशाला सम्पन्न भएको हो ।

मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा प्रोजेक्टले कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा युवा परिषद्मा आबद्ध युवाहरुले भ्रामक/मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गरेका थिए । करिब दुई घण्टासम्म चलेको कार्यशालाका सहभागिहरुलाई सहि सूचना र मिथ्या सूचना बीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइएको थियो ।

प्रोजेक्टका सदस्य विवेक लाल कर्णले मिथ्या/भ्रामक सूचना के हो र कसरी फैलिन्छ लगायतका विषयवस्तुहरु समेट्दै तयार पारेको सामाग्री प्रस्तुत गरेका थिए । उनले सामाजिक सञ्जालमा पोष्ट गरिएका सूचनाहरु मध्ये भ्रामक/मिथ्या सूचनाहरु कसरी छुट्टयाउने भन्ने विषयमा समेत प्रकाश पारे ।

यस्तै प्रोजेक्टकै सदस्य आकृती श्रेष्ठले भने गलत मनसाय राखि फैलाइएका सूचनाहरुको नियन्त्रण गर्न सक्ने विधीका बारेमा कार्यशालाका सहभागिहरुलाई जानकारी गराइन् । उनले इन्टरनेटका माध्यमबाट सूचनाको तथ्य जाँच गर्न सकिने सजिलो तरिकाहरुबारे पनि सहभागिहरुलाई प्रष्ट पारिन् ।

सीमान्तकृत समुदायबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रामक/मिथ्या सूचनाको प्रभाव बारे तयार पारिएको सामाग्री मनोज पुरीले प्रस्तुत गरे । वर्षौदेखि पछाडि पारिएका समुदाय बारे भ्रामक÷मिथ्या सूचना फैलाइए उनीहरु थप जोखिममा पर्न सक्ने हुनाले यसबाट सजग रहन उनले सुझाव दिए ।

प्रोजेक्टका सदस्य डा. भुवन गिरीले कानुनी उपचारका पाटोहरुमा प्रकाश पारे । कोही/कसै विरुद्ध भ्रामक/मिथ्या सूचना फैलिए अथवा फैलाइए कानुनको सहायता कसरी लिन सकिन्छ भन्ने विषयमा उनले कार्यशालाका सहभागिहरुलाई जानकारी गराएका थिए ।

यसैबिच अवन श्रेष्ठले आर्टिफीसियल इन्टेलिजेन्स (एआई) का माध्यमबाट फैलिइरहेका भ्रामक÷मिथ्या सूचनाका बारेमा सहभागिहरुलाई जानकार बनाए । एआईमा आएको तीब्र विकासले इन्टरनेटमा उपलब्ध सूचनाहरु तथ्य जाँच बिना नपत्याउन उनले आग्रह गरे ।

कार्यशालामा सहभागी विद्यार्थीहरुले कार्यशालाबाट सिकेका विषयहरुका बारेमा नाटक÷/मन्तव्यका माध्यमबाट प्रस्तुती समेत दिएका थिए । सहभागीहरुले भ्रामक/मिथ्या सूचनाको प्रभावबाट आफू र आफ्नाहरुलाई जोगाउन कार्यशालामा सिकेका सीपहरु उपयोगी हुने विश्वास समेत व्यक्त गरेका थिए ।

प्रोजेक्टका सदस्य विशाल खड्काले समापन मन्तव्य व्यक्त गरेको कार्यशालाको सहजीकरण श्रृजा खनाल र विवेक कर्णले गरेका थिए ।
 

Back to top