×

वीरगञ्ज ।  जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर-१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्बिर सार्वजनिक गरेको छ । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुवै जना मृतकको स्केच सार्वजनिक गरेको हो ।

गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका वडा– १२ मिलन चोक स्थित पूर्व पश्चिम लोक मार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङगा घोल खोलाको कल्भर्ट मुनी जुटको बोरा भित्र शङ्कास्पद रूपमा बोरामा दुई शव फेला पारेको थियो ।

अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाइ भएको पुरुष र सोही  स्थानमा ३०-३१ वर्षकी ५ फिट ३ इन्च उचाइ भएकी महिलाको शव सडे गलेको अवस्थामा फेला परेको थियो ।

शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो । तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कविहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ ।

Back to top